चितवनमा अनलाइन ठगी बढ्दो, एक वर्षमा ५२१ उजुरी दर्ता

cyber crime

चितवन, साउन २० –

चितवन जिल्लामा आर्थिक वर्ष २०८२/८३ मा अनलाइन ठगीका ५२१ वटा निवेदन दर्ता भएका छन्। ती घटनामा रु १२ करोड २२ लाख ८४ हजार ३३८ बराबरको रकम ठगी भएको जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ।

जिल्ला प्रहरी कार्यालयका प्रमुख प्रहरी उपरीक्षक रामेश्वर पौडेलका अनुसार ठगी भएको रकममध्ये हालसम्म रु दुई करोड २९ लाख ९८ हजार ६४३ पीडितलाई फिर्ता गराइएको छ।

उनका अनुसार पछिल्लो समय अनलाइन मार्केटिङ, सामाजिक सञ्जालमार्फत फिसिङ लिङ्क पठाउने, आकर्षक अफर देखाउने तथा उपहार जितेको भन्दै प्रलोभनमा पारेर ठगी गर्ने घटनामा उल्लेख्य वृद्धि भएको छ। दैनिकजसो अनलाइन ठगीका उजुरी आउने गरेको र ठगीको रकम रु २०० देखि लाखौँ रुपैयाँसम्म रहेको प्रहरीले जनाएको छ।

प्रहरीले अपरिचित व्यक्तिबाट आएका फ्रेन्ड रिक्वेस्ट वा सन्देश स्वीकार नगर्न, शंकास्पद लिङ्क नखोल्न तथा व्यक्तिगत वा बैंकिङ विवरण कसैसँग साझेदारी नगर्न सर्वसाधारणलाई आग्रह गरेको छ।

प्रहरी उपरीक्षक पौडेलले अनलाइनमार्फत ठगी भएको आशंका लागेमा वा ठगीको शिकार भएमा तत्काल नजिकको प्रहरी कार्यालयमा सम्पर्क गर्न अनुरोध गरेका छन्।

साइबर अपराधका ३९० निवेदन
जिल्ला प्रहरी कार्यालयका अनुसार गत आर्थिक वर्षमा साइबर अपराधसम्बन्धी ३९० वटा निवेदन दर्ता भएका छन्। तीमध्ये ३७५ वटा फर्छ्योट भइसकेका छन् भने १५ वटा निवेदन अझै प्रक्रियामा रहेका छन्।

प्रहरीले यस्ता मुद्दाको अनुसन्धान नेपाल प्रहरी प्रदेश कार्यालयसँग समन्वय गरेर गर्दै आएको जनाएको छ।

यसअघि आर्थिक वर्ष २०८१/८२ मा साइबर अपराधसम्बन्धी ४११ वटा निवेदन दर्ता भएका थिए। तीमध्ये ३९८ वटा फर्छ्योट भएका थिए भने १३ वटा निवेदन बाँकी रहेका थिए।