चितवन, साउन १८-
चितवन जिल्ला प्रशासन कार्यालयले अशक्त, वृद्ध, अपाङ्गता भएका व्यक्ति, एकल महिला तथा अत्यावश्यक समूहलाई घरमै खाना पकाउने एलपी ग्यास पुर्याउने व्यवस्था गरेको छ ।
ग्यास अभावका कारण समस्या परेका व्यक्तिले प्रमुख जिल्ला अधिकारीको कार्यालयमा जानकारी गराएपछि उद्योगी र डिलरमार्फत घरमै ग्यास उपलब्ध गराइने प्रशासनले जनाएको छ ।
जिल्ला प्रशासन कार्यालय, ग्यास उद्योगी र डिलरबीच भएको छलफलपछि यस्तो व्यवस्था मिलाइएको हो । प्रमुख जिल्ला अधिकारी गणेश अर्यालले अशक्त तथा अपाङ्गता भएका व्यक्तिले ग्यास नपाएको जानकारी आएमा तत्काल घरमै ग्यास पठाउने व्यवस्था गरिएको बताउनुभयो ।
त्यस्तै, एकल महिला, वृद्धवृद्धा, छात्रावासका विद्यार्थी, आश्रम तथा अन्य अत्यावश्यक क्षेत्रमा पनि प्राथमिकताका आधारमा ग्यास उपलब्ध गराइनेछ ।
प्रशासनले ग्यास नपाएमा सर्वसाधारणलाई टोल फ्री नम्बरमार्फत जानकारी गराउन आग्रह गरेको छ ।
चितवनमा बाबा, साइबाबा र नेपाल ग्यास उद्योग सञ्चालनमा छन् भने गैँडाकोटस्थित जानकी ग्यासको बजार क्षेत्र पनि चितवन हो । चारवटै उद्योगका सञ्चालकले विगतको तुलनामा अहिले ग्यास आपूर्ति सहज रहेकाले बजारमा अभाव नहुने बताएका छन् ।
बाबा ग्यासका सञ्चालक विमल कालाखेतीले पहिलेभन्दा पर्याप्त मात्रामा ग्यास आउन थालेकाले उपभोक्ताले अभाव झेल्नुपर्ने अवस्था नरहेको जानकारी दिनुभयो ।