रत्ननगर, साउन १४–
रत्ननगर नगरपालिकाले कर्मचारी व्यवस्थापनलाई प्रभावकारी बनाउने उद्देश्यले नगरपालिका अन्तर्गत कार्यरत कर्मचारीहरूको व्यापक हेरफेर गरेको छ। नगरपालिकाले सार्वजनिक गरेको नयाँ कर्मचारी विवरणअनुसार अधिकांश वडाका वडा सचिवहरूको जिम्मेवारी परिवर्तन गरिएको हो।
नगरपालिकाले लामो समयदेखि एउटै वडा तथा शाखामा कार्यरत कर्मचारीहरूलाई नयाँ जिम्मेवारीमा खटाएको जनाएको छ।
नयाँ जिम्मेवारीअनुसार वडा नं. १ को वडा सचिवमा पदमराज सापकोटा, वडा नं. २ मा प्रदीप खरेल, वडा नं. ३ मा टिका रेग्मी, वडा नं. ४ मा बासुदेव रिजाल र वडा नं. ६ मा पुष्पराज आचार्यलाई जिम्मेवारी दिइएको छ।
त्यसैगरी वडा नं. ७ मा शंकरबहादुर गिरी, वडा नं. ८ मा केशवराज शर्मा, वडा नं. ९ मा गंगा कुमारी सुवेदी, वडा नं. १० मा महेश सुवेदी र वडा नं. ११ मा सूर्यप्रसाद ढुंगानालाई वडा सचिवका रूपमा खटाइएको छ।
यस्तै, वडा नं. १२ मा सुरेन्द्र चौधरी, वडा नं. १४ मा रूपबहादुर पण्डित क्षेत्री तथा वडा नं. १६ मा प्रमिला शर्माले वडा सचिवको जिम्मेवारी सम्हाल्ने भएका छन्।
वडा सचिवहरू मात्रै होइन, नगरपालिकाले सहायक कम्प्युटर अपरेटर, सब–इन्जिनियर, कार्यालय सहयोगीलगायत अन्य कर्मचारीहरूको समेत विभिन्न वडा कार्यालय, शाखा तथा उपशाखामा सरुवा गरेको छ।
नगरपालिकाका अनुसार कर्मचारीहरूको कार्यसम्पादनलाई थप प्रभावकारी, सेवाप्रवाहलाई चुस्त र प्रशासनिक व्यवस्थापनलाई व्यवस्थित बनाउने उद्देश्यले यो हेरफेर गरिएको हो।