चितवन, साउन १४–
चितवन राष्ट्रिय निकुञ्जबाट २०८० असोजमा कोशी टप्पु वन्यजन्तु आरक्षमा स्थानान्तरण गरिएका दुई पोथी एकसिंगे गैँडा ‘पुष्पा’ र ‘अञ्जली’ प्रजननयोग्य उमेरमा पुगेका छन्। तर, आरक्षमा भाले गैँडा नहुँदा गैँडाको वंश विस्तार गर्ने सरकारी योजना प्रभावित बनेको छ।
आरक्षका अनुसार सात वर्षीया पुष्पा र छ वर्षीया अञ्जली अहिले प्रजननका लागि उपयुक्त उमेरमा पुगेका छन्। उनीहरूको व्यवहारमा पनि प्रजननको संकेत देखिन थालेको संरक्षणकर्मीहरूको भनाइ छ। तर भाले गैँडाको अभावले प्रजनन सम्भव हुन सकेको छैन।
कोशी टप्पु वन्यजन्तु आरक्षका प्रमुख वरिष्ठ संरक्षण अधिकृत भूपेन्द्रप्रसाद यादवले चाँडै भाले गैँडा ल्याउने तयारी भइरहेको जानकारी दिए। आरक्षमा त्यसका लागि छुट्टै इन्क्लोजर पनि तयार पारिएको छ।
दुवै गैँडा अहिले कोशी टप्पुको वातावरणमा पूर्ण रूपमा अभ्यस्त भइसकेका छन्। संरक्षणकर्मीहरूले भविष्यमा कोशी टप्पुलाई अर्नासँगै गैँडा र हात्ती अवलोकनको प्रमुख पर्यटकीय गन्तव्य बनाउने लक्ष्यका साथ संरक्षण र प्रजनन कार्यक्रम अघि बढाइरहेका छन्।