चितवन, साउन १२–
चिकित्सकहरुको आन्दोलनका कारण आज चितवनका सरकारी अस्पतालहरुमा आकस्मिक बाहेकका ओपीडीलगायतका सेवा बन्द भएको छ । जिल्लाको भरतपुर अस्पताल, रत्ननगर बकुलहर अस्पताल, वीपी कोइराला मेमोरियल क्यान्सर अस्पताललगायतमा ओपीडी सेवा बन्द गरिएको हो ।
भरतपुर अस्पतालमा विहानैदेखि बिरामीहरु उपचारका लागि टोकन लिएर बसेका थिए । तर पछि मात्रै ओपीडी सेवा बन्द बारेको सूचना टाँस गरिएपछि बिरामी मर्कामा परेका छन् । तनहुँबाट उपचारको लागि आएकी सीता वि.क. ओपीडी सेवा बन्द हुँदा समस्यामा परेको गुनासो गरिन् । ढाँड दुखेर उपचार गर्न आउँदा धेरै समयपछि मात्रै ओपीडी बन्द बारे जानकारी पाएको बताइन् । ‘हिजै जानकारी पाएको भए आज दुःख व्यहोर्न पर्थेन, अस्पताल पुगेपछि मात्रै बन्द भएको थाहा पाउँदा झनै समस्या भयो’–वि.क.ले गुनासो गरिन् ।
उनी जस्तै समस्या लिएर भरतपुरको शारदानगरबाट अस्पताल पुगेकी लक्ष्मी ढकाल चिकित्सक फेला नपर्दा उपचार नपाएको गुनासो गरिन् । ‘विहान टोकन लिएर गए, अहिले पालो आइसकेको होला भनेर अस्पताल आउँदा ओपीडी बन्द रहेछ’–ढकालले भनिन् ।
नारायणी अस्पताल वीरगञ्जका डा.प्रमोद राममाथि कुटपिट भएको घटनाको बिरोधमा चिकित्सक तथा स्वास्थ्यकर्मीहरु आन्दोलित छन् । उनीहरुले आज देशभर आकस्मिक बाहेकका सेवा बन्द गरेका छन् ।