अविरल वर्षाको असर मौरीपालनमाः रत्ननगरमा चरन क्षेत्रका मौरीघार बगायो

mauri palan

नारायणगढ (चितवन),असार ३१-

सोमबार परेको अविरल वर्षापछि आएको बाढीका कारण चितवनको रत्ननगर क्षेत्रमा मौरीपालन व्यवसायमा ठूलो क्षति पुगेको छ । पालिकाको मनिखोला र लालपर्सा क्षेत्रमा चरनका लागि राखिएका सयौँ मौरीघार बगाउँदा तथा मौरीगोला नष्ट हुँदा करिब रु ६० लाखबराबरको प्रारम्भिक क्षति भएको अनुमान गरिएको छ ।

रत्ननगर नगरपालिकाको कृषि विकास शाखाका प्रमुख प्रवीण लामाका अनुसार वडा नं ११ अन्तर्गत पन्कन्या सामुदायिक वन क्षेत्रस्थित मनिखोला र वडा नं ९ को लालपर्सामा राखिएका मौरीघार बाढीले बगाएको तथा मौरीगोला नष्ट गरेको हो । अधिकांश घारमा मह निकाल्ने समय भइसकेकाले थप आर्थिक क्षति भएको उहाँले बताउनुभयो ।

मनिखोला क्षेत्रमा शङ्कर भट्ट (रत्ननगर–१२) का २५० घार, रोशन विक (रत्ननगर–४) का ७० घार र दिनेश ढकाल (भरतपुर–१४) का ९५ घार गरी ४१५ घार प्रभावित भएका छन् । यस क्षेत्रमा केही घार सुरक्षित अवस्थामा फेला पर्ने सम्भावना रहे पनि अधिकांश मौरीगोला नष्ट भएको लामाले बताउनुभयो ।

त्यसैगरी लालपर्सा क्षेत्रमा लोकप्रसाद पराजुली (खैरहनी)का ९० घार, दीपक थापा (रत्ननगर–४) का ९० घार र एकबहादुर गुरुङ (रत्ननगर–३) का ९० घार गरी २७० घार प्रभावित भएका छन् । तीमध्ये करिब २५० घार बाढीले पूर्ण रूपमा बगाएको र केही घारमात्रै भेट्टाएर सुरक्षित स्थानमा सारिएको प्रमुख लामाले जानकारी दिनुभयो । पानीको बहाव उच्च भएकाले सबै घार रहेको स्थानमा पुगेर एकिन विवरण सङ्कलन गर्न अझै कठिनाइ भइरहेको उहाँको भनाइ छ ।

“बाढीपछि केही घार भेटिए पनि अधिकांशका मौरीगोला नष्ट भइसकेका छन् । लालपर्सामा प्रभावित २७० घारमध्ये करिब २५० घार बाढीले बगाएको छ । एउटा घारको औसत मूल्य करिब रु १० हजार पर्छ । अधिकांश घारमा मह निकाल्ने समय भएकाले प्रतिघार चारदेखि पाँच किलोग्रामसम्म मह उत्पादन हुने अवस्थामा थियो । घारसँगै मौरीगोला र उत्पादन हुन लागेको महसमेत नष्ट हुँदा किसानलाई प्रारम्भिक रूपमा कम्तीमा रु ६० लाखबराबरको क्षति भएको अनुमान गरेका छौँ”, प्रमुख लामाले भन्नुभयो ।

नगरपालिकाले प्रभावित क्षेत्रको थप स्थलगत अनुगमन गरी विस्तृत क्षतिको विवरण सङ्कलन गरिरहेको उहाँले बताउनुभयो ।रासस