भरतपुर, असार ३० –
स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालयको निर्देशनपछि विराटनगरस्थित कोशी अस्पतालको अतिक्रमित जग्गामा बनेका ३२ वटा व्यावसायिक सटर हटाइए पनि भरतपुर अस्पतालको १९ बिघा जग्गा भने अझै खाली हुन सकेको छैन। तीन दशकदेखि विभिन्न संस्था तथा निजी क्षेत्रले प्रयोग गर्दै आएको अस्पतालको जग्गा फिर्ता ल्याउने प्रक्रिया अझै अन्योलमा छ।
भरतपुर अस्पतालको नाममा करिब ३१ बिघा जग्गा रहेको छ। तर अस्पतालले हाल करिब ११ बिघा मात्र उपयोग गर्दै आएको छ। बाँकी १९ बिघा जग्गा कलेज अफ मेडिकल साइन्स (पुरानो मेडिकल कलेज), नेपाल नेत्रज्योति संघद्वारा सञ्चालित आँखा अस्पताल, प्राविधिक शिक्षा तथा व्यावसायिक तालिम परिषद् (सीटीईभीटी) र साझा स्वास्थ्य सेवाले प्रयोग गर्दै आएका छन्।
६ सय शैयाको भरतपुर अस्पताललाई स्वास्थ्य विज्ञान प्रतिष्ठानका रूपमा विकास गर्ने तयारी भइरहेका बेला पर्याप्त जग्गाको अभाव चुनौती बनेको छ। अस्पतालले पटक–पटक स्वास्थ्य मन्त्रालयलाई जग्गा खाली गराउन आग्रह गर्दै आएको छ भने विभिन्न निकायमा समेत पहल गरेको जनाएको छ।अस्पतालका प्रमुख मेडिकल सुपरिटेन्डेन्ट डा. विश्वबन्धु बगालेले आफ्नो कार्यकाल छोटो भएकाले हाल जग्गाको नापजाँच प्रक्रिया अघि बढाउने तयारी भइरहेको बताए। नापीका लागि आवश्यक बजेट माग गरेर पठाइएको र बजेट आएपछि प्रक्रिया अघि बढाइने उनको भनाइ छ।
सूचनाको हकअन्तर्गत प्राप्त विवरणअनुसार भरतपुर अस्पतालको जग्गामध्ये कलेज अफ मेडिकल साइन्सले करिब ९ बिघा, नेत्रज्योति संघले ६ बिघा १९ कठ्ठा १० धुर, सीटीईभीटीले ६ बिघा १९ कठ्ठा १० धुर र साझा स्वास्थ्य सेवाले १ कठ्ठा १० धुर जग्गा प्रयोग गरिरहेका छन्। कलेज अफ मेडिकल साइन्सले २०५० सालदेखि अस्पतालको जग्गा लिजमा प्रयोग गर्दै आएको छ। २०६४ सालपछि प्रतिबिघा वार्षिक १ लाख रुपैयाँका दरले भाडा तिर्दै आएको बताइएको छ। उक्त जग्गामा निजी मेडिकल कलेजले ठूला संरचना निर्माण गरी सञ्चालन गरिरहेको छ।
त्यस्तै, नेत्रज्योति संघद्वारा सञ्चालित भरतपुर आँखा अस्पतालले पनि ठूलो क्षेत्रफलको जग्गा प्रयोग गरिरहेको छ। उक्त जग्गा प्रयोग गरेबापत कुनै शुल्क नतिरेको बताइएको छ। सीटीईभीटीले समेत अस्पतालको जग्गामा स्वास्थ्य शिक्षासम्बन्धी कार्यक्रम सञ्चालन गर्दै आएको छ। स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालयका सचिव डा. विकास देवकोटाले भरतपुर अस्पतालको अतिक्रमित जग्गाको विवरण माग गरिएको र अध्ययनपछि आवश्यक प्रक्रिया अघि बढाइने बताए।
उनले भने, “कस–कसले कति जग्गा प्रयोग गरिरहेका छन् भन्ने विवरण माग गरेका छौं। त्यसपछि अध्ययन गरेर प्रक्रिया सुरु हुन्छ।” कोशी अस्पतालको जग्गा तत्काल खाली गराइएको अवस्थामा भरतपुर अस्पतालको लामो समयदेखिको जग्गा समस्या समाधान गर्न सरकारमाथि दबाब बढेको छ। अस्पताललाई स्वास्थ्य विज्ञान प्रतिष्ठानका रूपमा विस्तार गर्न आफ्नै जग्गा फिर्ता ल्याउनुपर्ने माग चितवनवासीले गर्दै आएका छन्।