रोकिएन ध्रुबे हात्तीको आंतक, माडीमा घर भत्कायो

bhatkeko ghar

चितवन, असार २८-

चितवनको माडी नगरपालिका–१ बनकट्टामा गएराति ध्रुबे हात्तीले एक घरमा आक्रमण गरी भत्काएको छ। घरभित्र रहेका परिवारका सदस्य भने समयमै बाहिर निस्कन सफल भएकाले सकुशल जोगिएका छन्।

स्थानीय दीपक बोटको घरमा गएराति करिब १२:३० बजे ध्रुबे हात्तीले आक्रमण गरी घर भत्काउन थालेको थियो। हात्ती गाउँमा प्रवेश गरेको थाहा पाएलगत्तै स्थानीयवासी ट्र्याक्टरसहित घटनास्थलमा पुगेर ध्रुबेलाई जंगलतर्फ धपाएका थिए। स्थानीयको सक्रियताका कारण थप जनधनको क्षति तथा मानवीय हताहती हुनबाट जोगिएको बताइएको छ।

ध्रुबे हात्तीले हालसम्म २५ जनाभन्दा बढी मानिसको ज्यान लिइसकेको छ। पछिल्लोपटक पनि दुई जनाको मृत्यु भएपछि उक्त हात्तीको खोजी तथा नियन्त्रणका लागि निकुञ्जको प्राविधिक टोली परिचालन गरिएको छ। टोलीले ध्रुबेलाई ट्र्याक गर्ने प्रयास गरिरहेको भए पनि हालसम्म नियन्त्रणमा लिन सफल भएको छैन।

ध्रुबे हात्ती माडीको बनकट्टा क्षेत्रमा पुगेपछि स्थानीयवासी त्रसित बनेका छन्। सम्भावित जोखिमलाई ध्यानमा राख्दै रातिको समयमा विशेष सतर्कता अपनाउन स्थानीय प्रशासन र सम्बन्धित निकायले आग्रह गरेका छन्।