चितवन :
धुर्बे हात्तीको आक्रमणमा परी ज्यान गुमाएका भरतपुर महानगरपालिका–२३ का पीडित परिवारलाई भरतपुर महानगरपालिकाले राहत, रोजगारीको सुनिश्चितता तथा आवश्यक सहयोग उपलब्ध गराएको छ।
भरतपुर महानगरपालिकाका कार्यवाहक प्रमुख चित्रसेन अधिकारी, प्रमुख प्रशासकीय अधिकृत वीरेन्द्र भारती, वडा नं.–२३ का अध्यक्ष दीपक दवाडी, अन्य वडाध्यक्षहरू तथा महानगरका विभागीय प्रमुखहरूको टोलीले घटनास्थल पुगेर शोकसन्तप्त परिवारसँग भेट गर्दै समवेदना व्यक्त गरेको हो।
महानगरले पीडित परिवारका एक सदस्यलाई रोजगारीको सुनिश्चितता गर्नुका साथै करिब ४ लाख रुपैयाँभन्दा बढी मूल्यबराबरको खाद्यान्न र राहत सामग्री हस्तान्तरण गरेको जनाएको छ।
कार्यवाहक प्रमुख अधिकारीले नागरिकको दुःख–सुखमा महानगर सधैं साथमा रहने प्रतिबद्धता व्यक्त गर्दै मानव–वन्यजन्तु द्वन्द्व न्यूनीकरणका लागि अब नयाँ नीति, प्रभावकारी योजना र दीर्घकालीन रणनीतिसहित अघि बढ्ने बताए। उनले यस्ता दुःखद घटना दोहोरिन नदिन सम्बन्धित निकायसँग समन्वय गरी आवश्यक पहल गरिने उल्लेख गरे।
पीडित परिवारप्रति गहिरो समवेदना व्यक्त गर्दै अधिकारीले महानगरका सबै जनप्रतिनिधि जनताको सेवामा निरन्तर सक्रिय रहेको बताए। उनले विशेषगरी घटनापछि राहत, उद्धार र समन्वयमा सक्रिय भूमिका निर्वाह गरेका वडा नं.–२३ का अध्यक्ष दीपक दवाडीको कार्यको समेत खुलेर प्रशंसा गरे।
धुर्बे हात्तीको आक्रमणपछि प्रभावित परिवारलाई तत्काल राहत उपलब्ध गराउँदै दीर्घकालीन पुनःस्थापना र मानव–वन्यजन्तु द्वन्द्व व्यवस्थापनलाई प्राथमिकतामा राखेर काम गरिने महानगरले जनाएको छ।