प्राङ्गारिक उत्पादनलाई बजारीकरण गर्न चितवनमा प्राङ्गारिक बिक्री कक्ष स्थापना

prangarik sthan

चितवन, असार २३ –

जिल्लामा उत्पादित प्राङ्गारिक कृषिजन्य उत्पादनको बजारीकरणका लागि बिक्री कक्ष स्थापना गरिएको छ । भरतपुर महानगरपालिका–७ मा जिल्ला प्राङ्गारिक सङ्घ चितवनको प्राङ्गारिक बिक्री कक्ष स्थापना गरिएको हो ।

जिल्ला कृषि विकास कार्यालय चितवनको सहयोग र सङ्घको समन्वयमा रु २० लाखको लागतमा बिक्री केन्द्र स्थापना गरिएको हो । सङ्घका अध्यक्ष चन्द्रप्रसाद अधिकारीका अनुसार उत्पादनको सन्तुलन नमिल्दा बजारीकरणमा समस्या भएपछि आफ्नै बिक्री कक्ष स्थापना गरिएको छ । उहाँले भन्नुभयो, “कुन सिजनमा कुन वस्तु कुन किसानले उत्पादन गर्ने भन्ने विषयमासहज होस् भनेर बिक्री केन्द्र स्थापना गरिएको हो ।” प्राङ्गारिक खेती गर्ने किसानले यस कक्षमा ल्याएर सामाना बिक्री वितरण गर्न छोड्न सक्नेछन् । केन्द्र स्थापना भएपछि विचौलियाको समस्या कम हुने उहाँले बताउनुभयो ।

अहिले जिल्लामा प्राङ्गारिक खेती गर्ने किसानको सङ्ख्या ३३ जना रहेको छ । उहाँले भन्नुभयो, “चालीस बिघा जग्गामा प्राङ्गारिक खेती हुँदैआएको छ ।” यस बिक्री कक्षमा प्राङ्गारिक कृषकले उत्पादन गरेको कृषिजन्यउपज दाल, चामल, फलफूल, तरकारी, दुग्धजन्य पदार्थ, जडीबुटी तथा पोसीलो खाद्यउपज बिक्री वितरण गरिने व्यवस्थापक राजकुमार तामाङले जानकारी दिनुभयो । उहाँका अनुसार यहाँ सिजन अनुसारका तरकारी, फलफूल तथा अन्य सामग्री बिक्री वितरण हुनेछन् । उहाँले भन्नुभयो, “यस बिक्री केन्द्रले आम किसान र उपभोक्तालई प्रत्यक्ष फाइदा हुनेछ ।” कहिले किसानले बजार नपाउने र कहिले उपभोक्ताले प्राङ्गारिक वस्तु नपाउने समस्यालाई केन्द्रले समाधान गर्ने विश्वास लिइएको छ । रासस