मानवअधिकार र सामाजिक सेवामा योगदान पुर्‍याएको भन्दै प्रताप डल्लाकोटी सम्मानित

pratap dallakoti

चितवन, असार १४-

एम्नेस्टी इन्टरनेसनल नेपाल समूह–६४ को २९औँ वार्षिक साधारणसभाको अवसरमा युवा नेता तथा समाजसेवी प्रताप डल्लाकोटी सम्मानित भएका छन्।

सन् २००४ देखि समूहको संस्थागत विकास, मानवअधिकारको संरक्षण तथा सामाजिक सेवाका क्षेत्रमा निरन्तर सक्रिय योगदान पुर्‍याएको कदरस्वरूप डल्लाकोटीलाई सम्मान गरिएको हो। कार्यक्रमका प्रमुख अतिथि तथा एम्नेस्टी इन्टरनेसनल नेपालका पूर्व केन्द्रीय सदस्य महेश प्रसाद पौडेलले सम्मानपत्र प्रदान गर्दै मानवअधिकारको संरक्षण र प्रवर्द्धनमा नागरिक समाजको भूमिका अत्यन्त महत्वपूर्ण रहेको बताए। उनले न्याय, समानता र मानवअधिकार सुनिश्चित गर्न राज्यसँगै नागरिक समाजको सक्रिय सहभागिता आवश्यक पर्ने धारणा राखे।

एम्नेस्टी इन्टरनेसनल नेपाल समूह–६४ की संयोजक इन्दु सुवेदीको अध्यक्षतामा सम्पन्न साधारणसभामा समूहले एक वर्षमा गरेका गतिविधि, संस्थागत प्रगति तथा आगामी कार्ययोजनाबारे समीक्षा र छलफल गरिएको थियो। सम्मान ग्रहणपछि प्रताप डल्लाकोटीले प्राप्त सम्मानले मानवअधिकार, सामाजिक उत्तरदायित्व र सेवामूलक अभियानमा अझ समर्पित भएर काम गर्न थप ऊर्जा र प्रेरणा मिलेको प्रतिक्रिया दिए। कार्यक्रममा मानवअधिकारकर्मी, सामाजिक अभियन्ता, विभिन्न संघसंस्थाका प्रतिनिधि तथा स्थानीय सरोकारवालाको उल्लेखनीय उपस्थिति रहेको थियो।