चितवन प्रहरीको ठूलो सफलता : अपहृत १६ वर्षीय बालक काठमाडौंबाट सकुशल उद्धार, ६ जना पक्राउ

nepal police

चितवन, असार ५ –

फिरौतीका लागि अपहरण गरिएका १६ वर्षीय बालकलाई चितवन प्रहरीले काठमाडौंबाट सकुशल उद्धार गर्दै घटनामा संलग्न ६ जनालाई पक्राउ गरेको छ। जिल्ला प्रहरी कार्यालय चितवनका अनुसार भरतपुर महानगरपालिका–३ निवासी १६ वर्षीय बालक असार १ गते दिउँसो करिब ४ बजे घरबाट हराएका थिए। सोही दिन राति करिब ११ बजे बालकका बुवाले प्रहरीमा जानकारी गराएपछि खोजी तथा अनुसन्धान प्रक्रिया सुरु गरिएको थियो।

अनुसन्धानका क्रममा सोही राति करिब १२ बजे पीडितका बुवाको मोबाइलमा सम्पर्क गरी केही व्यक्तिहरूले बालकको रिहाइका लागि २२ लाख रुपैयाँ फिरौती मागेको खुलेपछि प्रहरीले घटनालाई अपहरणको रूपमा लिएर विशेष अनुसन्धान अघि बढाएको थियो।

जिल्ला प्रहरी कार्यालय चितवनका प्रमुख प्रहरी उपरीक्षक (एसपी) रामेश्वर पौडेलका अनुसार प्राविधिक विश्लेषण, मोबाइल ट्र्याकिङ तथा विभिन्न सूचनाका आधारमा अपहरणमा संलग्न व्यक्तिहरू काठमाडौं क्षेत्रमा रहेको पत्ता लागेको थियो। त्यसपछि चितवन प्रहरी र काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय, टेकुबीच समन्वय गरी संयुक्त रूपमा खोजी अभियान सञ्चालन गरिएको थियो।

सोही क्रममा असार २ गते काठमाडौंको नयाँ बसपार्कस्थित होटल फ्यामिलीमा छापा मारेर अपहृत बालकको सकुशल उद्धार गरिएको प्रहरीले जनाएको छ। उद्धार अभियानका क्रममा घटनामा संलग्न पाँच जनालाई होटलको कोठाबाट पक्राउ गरिएको थियो भने थप एक जनालाई भरतपुर महानगरपालिका क्षेत्रबाट नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ।

पक्राउ परेका ६ जनाविरुद्ध ‘अपहरण तथा शरीर बन्धक’ सम्बन्धी कसुरमा मुद्दा दर्ता गरी चितवन जिल्ला अदालतबाट म्याद थप अनुमति लिएर थप अनुसन्धान भइरहेको छ। साथै घटनामा संलग्न अन्य फरार व्यक्तिहरू तथा अपहरणमा प्रयोग गरिएको सवारीसाधनको खोजी कार्य समेत तीव्र रूपमा अघि बढाइएको प्रहरीले जनाएको छ। प्रहरीले अपहरणजस्तो गम्भीर अपराधमा संलग्न जोसुकैलाई कानुनी दायरामा ल्याइने बताउँदै घटनाको विस्तृत अनुसन्धान जारी रहेको जनाएको छ।