स्थलमार्ग हुँदै नेपाल आउने पर्यटकहरूका लागि नयाँ निर्देशिका

tourists

काठमाडौं, जेठ ३१-

नेपाल पर्यटन बोर्डले स्थलमार्ग हुँदै नेपाल भ्रमणमा आउने पर्यटकहरूका लागि सुरक्षा, प्रवेश प्रक्रिया र भ्रमणलाई थप व्यवस्थित बनाउने उद्देश्यले नयाँ तथा अद्यावधिक निर्देशिका सार्वजनिक गरेको छ ।

पछिल्लो समय स्थलमार्गबाट नेपाल आउने पर्यटकहरूको सङ्ख्यामा भइरहेको वृद्धि र उनीहरूको सहजतालाई मध्यनजर गर्दै बोर्डले यस्तो आग्रह गरेको हो।

नेपाल प्रवेश गर्दा भन्सार विभागको अनलाइन वा भौतिक प्रणालीमार्फत अनिवार्य रूपमा प्रवेश अनुमति लिनुपर्नेछ । सीमामा पुगेपछि भन्सार अधिकारीलाई आफ्नो सवारी साधनमा रहेका यात्रुहरूको सूची, उमेर, लिङ्ग, नेपालमा रहने अवधि र भ्रमण गर्ने स्थानको जानकारी दिनुपर्नेछ।

भारतीय नागरिकका हकमा भिसा आवश्यक नभए पनि वैध राहदानी वा मतदाता परिचयपत्र अनिवार्य गरिएको छ । सुरक्षाका लागि यात्रु र सवारी साधनको नियमित जाँच गराउन समेत बोर्डले अनुरोध गरेको छ ।

पहाडी क्षेत्रको भौगोलिक जटिलता र साँघुरा सडकलाई ध्यानमा राख्दै पर्यटकहरूलाई आफ्ना सवारी साधन चुस्त अवस्थामा राख्न अनुरोध गरिएको छ । विशेष गरी भारतीय सवारी साधनका चालकहरूले नेपालको भूगोल र मौसमको अवस्थाबारे पूर्वजानकारी राख्नुका साथै सुरक्षित रूपमा सवारी चलाउनुपर्ने बोर्डको सुझाव छ।

पर्यटकहरूलाई प्राथमिक उपचार किट र नियमित औषधि साथमा राख्न बोर्डले प्रोत्साहित गरेको छ । मुक्तिनाथजस्ता उच्च उचाइ ९३८०० मिटर० मा जाने पर्यटकहरूका लागि अक्सिजनको व्यवस्था मिलाउन र लेक लाग्ने समस्या प्रति सचेत रहन आग्रह गरेको छ ।

पर्यटन बोर्डका अनुसार फोहोरमैला व्यवस्थापन गर्दा तोकिएको स्थान वा डस्टबिनबाहेक अन्यत्र फोहोर फाल्न निषेध गरिएको छ ।

स्थानीय परम्परा, संस्कृति र पवित्र स्थलहरूको सम्मान गर्न तथा मर्यादित पोशाक लगाउन आग्रह गरिएको छ । नेपालमा गाँजा सेवन वा बिक्री वितरण गैरकानूनी छ। मदिराको प्रयोग सन्तुलित रूपमा गर्नुपर्नेछ ।

भारतीय पर्यटकहरूले अधिकतम ५,००० अमेरिकी डलर बराबरको नगद मात्र बोक्न पाउनेछन् । डिजिटल भुक्तानीको व्यवस्था धेरै पर्यटकीय स्थलमा सहज रहेको छ ।

पदयात्रीहरूले अनिवार्य रूपमा दर्ता भएका गाइडहरूमार्फत मात्र यात्रा गर्नुपर्नेछ। साथै, प्रवेश गर्दा आफूसँग भएको सुन, चाँदी वा बहुमूल्य गरगहनाको घोषणा गर्नुपर्नेछ, जसले गर्दा निस्कने समयमा कुनै झन्झट हुने छैन ।

यस्तै, यात्राका क्रममा कुनै पनि असहज परिस्थिति आइपरेमा आपतकालीन सम्पर्कका लागि पर्यटक प्रहरी वा पर्यटन बोर्डका कार्यालयमा सम्पर्क गर्न अनुरोध गरिएको छ ।

पर्यटक प्रहरी हटलाइन ११४४, नेपाल पर्यटन बोर्ड पोखरा कार्यालय ०६१–४५५२९२ मा सम्पर्क गर्न सकिनेछ ।

पर्यटन बोर्डले जिम्मेवार पर्यटनको अभ्यास गर्दै नेपालको प्राकृतिक सौन्दर्य र सांस्कृतिक सम्पदाको संरक्षणमा सघाउन सबै पर्यटकहरूलाई अपिल गरेको छ ।