चितवन , जेठ ३१-
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को प्रथम ऐतिहासिक राष्ट्रिय महाधिवेशनका लागि स्थान तय भएको छ । चितवनमा ७ ९ असारसम्म राष्ट्रिय महाधिवेशनको तयारीमा जुटेको रास्वपाले रत्ननगर नगरपालिकाको मुख्य बजार टाडीमा उदघाटन समारोह र बन्दसत्र गर्ने महामन्त्री कबिन्द्र बुर्लाकोटीले बताए ।
उद्घाटन स्थल पूर्वी चितवनको रत्ननगर टाँडीमा रहेको होटल स्टार चितवनमा तय गरेका छौं । किनभने गर्मी असाध्यै धेरै छ । त्यो कारणले बन्द सत्र त्यहाँ हुन्छ । अनि खुल्ला सत्र त्यहाँको त्यो स्टार बेंक्वेट नजिकैको चौरमा टेन्टहरु राखेर मञ्च बनाएर गर्ने भन्ने छ, उनले भने । टाडी चितवन क्षेत्र नम्बर १ मा पर्छ । टाडी पर्यटकीय नगरी सौराह प्रवेशद्वारा पनि हो । बुर्लाकोटीले कार्यक्रम स्थलको सजावटको तयारीहरु भइरहेको पनि बताए ।
उद्घाटन सत्रदेखि बीचमा तथा पछाडि हुने सांस्कृतिक कार्यक्रमहरुको तयारी भइरहेको पनि बताए । प्रतिनिधिका लागि केन्द्रिय सदस्य धुव्र गिरी र जिल्ला नेता गोर्कण गिरीले सौराहाका होटलमा बासको प्रबन्ध मिलाउने जिम्मा समेत रहेको रास्वपाले जनाएको छ ।
यसैगरी महाधिवेशनमा राजनीतिक दलबाट नेताहरुलाई बोलाउने तयारी भइरहेको पनि बताए । अन्तर्राष्ट्रिय पार्टीका प्रतिनिधि भने बोलाउने कुनै कार्यक्रम छैन । महामन्त्री बुर्लाकोटीले महाधिवेशनमा तीन हजार प्रतिनिधि चितवन आउने र प्रतिनिधिहरुको खाना बासको लागि तयारी भइरहेको बताए ।
अहिलेसम्मको हिसाबले प्रतिनिधिहरु आफै बास बस्नु हुन्छ । तर प्रतिनिधिहरुलाई बास बस्नको लागि चितवनमा वरिपरिको सौराहा टाडी लगायतको क्षेत्रमा भारी डिस्काउन्टमा बास बस्ने ठाउँहरु तयारी गर्ने कार्य भैरहेको छ, बुर्लाकोटीले भने ।
महाधिवेशन गर्न चार करोड खर्च हुने अनुमान गरिएको र आर्थिक व्यवस्थापनको लागि फण्ड रेजिङ टिमले काम गरिरहेको बताए । त्यो मध्ये करिब ३० प्रतिशत जति स्रोत जुटिसकेको उनको भनाइ छ ।
यसका अलावा सांगठनिक, आर्थिक प्रतिवेदनलगायत राजनीतिक प्रतिवेदनको मस्यौदा तयारी भइरहेको महामन्त्री बुर्लाकोटीले बताए । बुर्लाकोटीअनुसार ६५ जिल्लाको अधिवेशन सम्पन्न भइसकेको छ । १२ जिल्लाको अधिवेशन अब राष्ट्रिय महाधिवेशनपछि हुनेछ । यसैगरी ६ सयभन्दा बढी पालिका अधिवेशन भइसकेको छ ।
प्रदेशअन्तर्गत कोशी, बागमती, गण्डकी र लुम्बिनीको अधिवेशन सम्पन्न भइसकेको छ । मधेशको अधिवेशन राष्ट्रिय महाधिवेशनपछि हुनेछ । कर्णालीमा आज र सुदूरपश्चिममा भोलि प्रदेश अधिवेशन हुँदैछ ।