भरतपुरको अटो ग्यारेजमा युवकको हत्या, दुई जना पक्राउ

handcuffed man

भरतपुर । चितवनको भरतपुर महानगरपालिका–७ बुद्धचोकस्थित एक अटो ग्यारेजमा कार्यरत युवकको हत्या प्रकरणमा संलग्न दुई जनालाई प्रहरीले पक्राउ गरेको छ।

जिल्ला प्रहरी कार्यालय चितवनका अनुसार रूपन्देही जिल्लाको सैनामैना नगरपालिका–६ निवासी ३० वर्षीय आशिष खनालमाथि गत असोज २२ गते राति करिब ११:३० बजे धारिलो हतियार प्रहार भएको थियो। गम्भीर घाइते भएका खनाललाई तत्काल उपचारका लागि भरतपुर अस्पताल लगिएको भए पनि उपचारकै क्रममा उनको मृत्यु भएको प्रहरीले जनाएको छ।

घटनाको अनुसन्धानका क्रममा नवलपरासी (बर्दघाट–सुस्ता पूर्व) गैंडाकोट नगरपालिका–१७ निवासी २७ वर्षीय कृष्ण बहादुर खड्का र स्याङ्जा जिल्ला स्थायी घर भई हाल पोखरा महानगरपालिका–१५ बस्ने २८ वर्षीय सम्राट गुरुङलाई पक्राउ गरिएको प्रहरीले जानकारी दिएको छ।

प्रहरीका अनुसार फरार रहेका उनीहरूलाई कास्कीको पोखरा महानगरपालिका–८ स्थित एक होटलबाट पक्राउ गरिएको हो। पक्राउ परेकामाथि थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ।