गुरूकुलमा अनुशासनसँगै सिकाइन्छ व्यावहारिक ज्ञान

gurukul

गुञ्जनगर । गुरूकुलमा अध्ययनरत विद्यार्थीले संस्कृतप्रतिको मोह मात्र होइन, जीवन र जगत्सँग परिचित हुने अभ्यासको विकास भएको बताएका छन् । भरतपुर महानगरपालिका–१८, गुञ्जनगरस्थित श्री परमानन्द स्मृति वैदिक विद्याभवन गुरूकुलमा आइतबार सम्पन्न कक्षा १२ का विद्यार्थीहरुको बिदाइ कार्यक्रममा बोल्दै विद्यार्थीहरुले गुरूकुलमा अनुशासनसँगै व्यावहारिक ज्ञान सिकाइने बताए ।

गुरूकुलमा धर्म, संस्कार पढाइने भएकाले पनि विद्यार्थीलाई असल काम गर्न प्रोत्साहित गरिन्छ र ध्यानले स्मरणशक्ति मात्र नभई दिमाग तेज हुनुका साथै गुरूकुलले अनुशासित हुन मद्दत गरेको विद्यार्थीहरुको अनुभव छ । कक्षा १२ मा अध्ययन गरेका शैलेश भूषालले आफूमा नियमको पालनासँगै अनुशासनको विकास भएको बताए । ‘यहाँ बिहान ४ बजे उठी नित्यकर्म गर्ने, १५ मिनेट ध्यान, पाँच मिनेट प्राणायाम र महर्षि पूजा गर्ने, पूजापछि अखण्ड रूद्राभिषेक पाठ बिहान ६ बजेभित्र नै गरिसक्छौँ’ उनले भने, ‘जीवनमा अनुशासन, समयको महत्त्व, सरसफाइ र कर्मको ज्ञान मिलेको छ ।’

गुरूकुलको पढाइ, रहनसहन, खाने, बस्ने सबै कुरा बेग्लै लाग्ने गरेको अर्का विद्यार्थी नवीन उपाध्याय बताउँछन् । ‘म यहाँ आफ्नै इच्छाले पढ्न आएको हो, यहाँ आएपछि जीवनशैलीमा निकै परिवर्तन भयो’, उनले भने, ‘दैनिक कर्मले गर्दा अनुशासन र स्मरण क्षमतामा पनि परिवर्तन आएको छ ।’ सामान्य विद्यालयको पढाइभन्दा गुरूकुलका कक्षाहरु उनका लागि विशेष भएको विद्यार्थी कविराज जोशी बताउँछन् । गुरूकुल शिक्षाबाट धर्मशास्त्रसँगै व्यावहारिक ज्ञानले सानै उमेरमा असल मान्छे बनाउन सहयोग पुग्ने उनको भनाइ थियो ।

नैतिकता, आदरभाव, सम्मान, संस्कृति र संस्कारलाई मानमर्यादा गर्नेबारे सानै उमेरमा सिक्न पाउँदा असल नागरिक बनाउन गुरूकुल शिक्षा उदाहरणीय रहेको अर्का विद्यार्थी टेकराज अवस्थीले बताए । धेरैले गुरूकुललाई धर्मशास्त्र सिकाउने केन्द्रका रुपमा बुझ्ने गरेको कार्यक्रमका प्रमुखअतिथि भरतपुर–१८ का वडाध्यक्ष बाबुराम राना मगरले बताए । गुरूकुल शिक्षामा धर्म, संस्कार र संस्कृति सिकाइने र प्राचीन कालदेखिको प्रभावशाली शैक्षिक प्रणालीका रुपमा गुरूकुल शिक्षालाई लिने गरिन्छ । गुरूको आश्रममा गएर शिक्षा लिइने पद्धतिलाई गुरूकुल शिक्षाका रुपमा बुझिने उनले बताए ।

पछिल्लो समय गुरूकुलको अस्तित्व मेटिँदै गएको बेला गुञ्जनगरस्थित गुरूकुल यसको नमुनाका रुपमा रहेको गुरूकुलका सञ्चालक समितिका अध्यक्ष श्रीलाल अधिकारीले बताए । यहाँ वैदिक धर्म, संस्कृतिको संरक्षणका लागि वेद, व्याकरण, संस्कृत भाषा र कर्मकाण्ड विषयका साथै वैदिक संस्कारलाई आधुनिकतर्फ लैजानका लागि अङ्ग्रेजी, गणित र नेपाली विषय पनि अध्यापन हुँदै आएको उनले जानकारी दिए ।

गुरूकुल शिक्षा पद्धति लोप भइरहेका बेला विसं २०५४ सालमा गुञ्जनगरमा स्थापना भएको परमानन्द स्मृति वैदिक विद्याभवन विभिन्न दाताहरुको अक्षयकोषको व्याजले वटुकहरुको अध्ययनको अभिभारा बोकी १५६ जनाले आजीवन अभिभावकत्व ग्रहण गर्नुका साथै १४३ जना गुठियार र विभिन्न सहयोगी व्यक्ति, संस्था तथा स्थानीय सरकारको सहयोगबाट विद्यालय सञ्चालन भइरहेको प्राचार्य ज्ञानप्रसाद भूर्तेलले बताए । ‘कक्षा ८ सम्म अध्ययन हुँदै आएकामा अब १२ कक्षासम्म अध्ययन गराउन मिल्ने गरी भवन निर्माण भएको छ’, उनले भने, ‘विद्यार्थीको उत्साह र बढ्दो महत्त्वले गुरूकुल सञ्चालनमा उत्साह मिलेको छ ।’

गुरूकुलमा मुख्य गरी विद्यार्थीलाई अनुशासित बनाई जीवनदर्शन र धर्मशास्त्रको ज्ञान दिइने प्राचार्य भूर्तेल बताए । यहाँ देशका विभिन्न भूभागबाट आई ६४ विद्यार्थी अध्ययनरत छन् भने १० शिक्षक तथा कर्मचारीले गुरूकुल धानिरहेका छन् । गुरूकुलमा कक्षा ६ देखि १२ कक्षासम्म नेपाली, अङ्ग्रेजी, गणित अनिवार्य विषय रहेको र संस्कृत व्याकरण, संस्कृत भाषा, कर्मकाण्ड, वेदलगायतका विषय पठनपाठन हुने गरेको उनले बताए । विद्यार्थीहरुलाई बिहान उठेदेखि राति नसुतुञ्जेलसम्म व्यस्त राख्ने गरिन्छ ।

‘खाने, बस्ने, खेल्ने, सुत्ने, पढ्ने, ध्यान गर्ने, पूजापाठ गर्ने, योग गर्ने, घर जाने सबै कुराको समय तोकिएको हुन्छ, समयको पालना गर्नु पनि अनुशासन हो’, उनले भने, ‘सामान्य स्कुलमा पढाइ हुने गणित, सामाजिक, अङ्ग्रेजीजस्ता विषय यहाँ पनि अध्यापन गराइन्छ ।’ गुरूकुल सञ्चालनका लागि तत्कालीन गुञ्जनगर गाविसले ५ कठ्ठा जमिन उपलब्ध गराएकोमा अहिले महानगरबाट थप १० कठ्ठा जग्गा उपलब्ध गराइएको र १७ कोठे भवन, पाकशाला, छात्रावास र गौशाला रहेको प्राचार्य भूर्तेलले बताए ।

गुरूकुल विद्यालय व्यवस्थापन समिति अध्यक्ष खेमनाथ सुवेदी शास्त्रीको सभापतित्वमा भएको कार्यक्रममा पूर्वअध्यक्ष मुक्तिनाथ ढकाल तथा विद्यार्थीहरु सुवास अर्याल, अर्जुन लामिछाने, पारस अधिकारीलगायतले मन्तव्य व्यक्त गरेका थिए ।