विराटनगर । सुनसरीको धरानस्थित बराह बचत तथा ऋण सहकारी संस्थाका पीडितहरू आफ्नो डुबेको अर्बौँ रकम फिर्ता गराउने पहल गरिदिन माग गर्दै सङ्घीय राजधानी काठमाडौँ पुगेका छन् ।
उनीहरूले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेलाई गुहार्दै पार्टीको ‘१०० दिने बाचा’ स्मरण गराएका छन् ।
बराह सहकारी पीडित समन्वय समितिका अध्यक्ष श्यामप्रसाद ढकालसहितको टोलीले सिंहदरबारस्थित रास्वपाको संसदीय दलको कार्यालयमा पुगेर शुक्रबार ज्ञापनपत्र बुझाएको हो । सभापति लामिछाने व्यस्त रहेका कारण रास्वपाका सचेतक कवीन्द्र बुर्लाकोटी तथा अन्य पदाधिकारीमार्फत उक्त ज्ञापनपत्र दर्ता गराइएको पीडित प्रदीप बास्तोलाले जानकारी दिए ।
‘हामीले राष्ट्रिय स्वतन्त्र पार्टीको सङ्घीय संसद् सचिवालयमा पत्र दर्ता गराएका छौँ । प्रमुख सचेतक, सचेतकहरूलाई भेटेर पत्र बुझायौँ,’ बास्तोलाले भने, ‘उहाँहरूले पत्र बुझेपछि यस विषयमा हामी छलफल गर्छौँ भन्नुभएको छ ।’
रास्वपाले चुनावका बेला आफ्नो घोषणापत्रमा ‘१०० दिनभित्र सहकारी पीडितको रकम फिर्ता गराउने’ बाचा गरेको थियो । ‘तपाईंको अगुवाइमा विजयी हुनुभएका रास्वपा पार्टीका जनप्रतिनिधिहरूले चुनाव जितेमा १०० दिनभित्र सहकारीका बचतकर्ताहरूको रकम फिर्ता गर्ने घोषणापत्रद्वारा व्यक्त गर्नुभएको कुरालाई स्मरण गराउँदछौँ,’ ज्ञापनपत्रमा उल्लेख छ ।
सोही बाचालाई आधार मानेर आफूहरू न्याय माग्न आएको तर सरकार र मन्त्रालयको कुरा सुन्दा निराशा छाएको बास्तोला बताउँछन् । ‘रास्वपाको चुनावी एजेन्डा १०० दिनमा बचत फिर्ता गर्ने भन्ने थियो । त्यो देशभरिका सहकारीलाई हो कि कसको सहकारीलाई हो ? उहाँहरूको बाचापत्रले त्यसो भन्छ तर अहिले मन्त्रालयले २३ वटा (सङ्घीय सरकारको क्षेत्राधिकार भित्र पर्ने) सहकारीको मात्रै काम गर्दैछ भन्छ । बराह सहकारी त धरान उपमहानगरपालिकाको क्षेत्राधिकार भित्र पर्छ । अब हाम्रो अवस्था के हुने ?’
समितिका अध्यक्ष श्यामप्रसाद ढकाल, द्वितीय अध्यक्ष विष्णु कुमार राई र सचिव नरेन्द्र कुमार इवारामद्वारा हस्ताक्षरित ज्ञापनपत्रमा बराह सहकारीमा करिब ८ देखि १० हजार सर्वसाधारणको ११ अर्ब रुपैयाँ भन्दा बढी रकम फसेको उल्लेख छ ।
२०७८ सालको मंसिर महिनादेखि नै सहकारीले बचतकर्ताको रकम फिर्ता गर्न छाडेको थियो । सर्वसाधारणले आफूले खाइ–नखाई भविष्य र बालबच्चाका लागि जम्मा गरेको रकम डुबेपछि उनीहरु बिचल्लीमा परेका छन् ।
‘सहकारीका अध्यक्ष मानबहादुर विश्वकर्मा, सञ्चालकहरू अमरबहादुर विश्वकर्मा, गंगाबहादुर कालिकोटे लगायतका मुख्य व्यक्तिहरु हालसम्म फरार छन् । केही विभागीय प्रमुखहरूलाई पक्राउ गरेता पनि धरौटीमा रिहा भइसके । फरार सञ्चालकहरूलाई चाँडो भन्दा चाँडो खोजतलास गरी पक्राउ तथा कानुनी कारबाही गरी हाम्रो बचत रकम फिर्ता गराई पाउँ,’ ज्ञापनपत्रमा उल्लेख छ ।
धरान उपमहानगरपालिकाको कार्यपालिका बैठकले २०७९ भदौ २२ गते नै उक्त सहकारीलाई ‘सङ्कटग्रस्त’ घोषणा गरिसकेको छ । तर, त्यसपछि सम्बन्धित निकायबाट कुनै पनि ठोस कदम नचालिएको पीडितहरूको गुनासो छ । ‘धरान उपमहानगरपालिकाले सङ्कटग्रस्त घोषणा त गर्यो तर व्यवस्थापन समिति गठन हुन सकेको छैन । मन्त्रालयमा पत्राचार गर्दा पनि यो प्रदेश वा पालिकाकै क्षेत्राधिकार हो भन्छ,’ पीडित बास्तोलाले भने । पहुँच र संयन्त्रको अभावमा आफूहरूले केही गर्न नसकेको र स्थानीय सरकारबाट पनि न्याय नपाएपछि सङ्घीय सरकारमा रहेका दलहरूको ढोका घच्घच्याउन बाध्य भएको पीडितहरूले बताएका छन् ।

१० अर्ब ७३ करोड हिनामिना !
बराह बचत तथा ऋण सहकारी संस्था, बराह ग्रुप कम्पनीलगायत २ दर्जन बढी कम्पनीहरुले १० अर्ब ७३ करोड बढी रकम हिनामिना गरेको भन्दै सुनसरी जिल्ला अदालत इनरुवामा मुद्दा चलिरहेको छ । २०८१ फागुनमा दर्ता भएको अभियोगपत्रमा सहकारी संस्थाको १० अर्ब ७३ करोड ४३ लाख ४७ हजार ९१३ रुपैयाँ हिनामिना र अपचलन भएको दाबी गरिएको छ ।
उक्त सहकारीका अध्यक्ष शिवकुमार विश्वकर्मा (लामिछाने)बाट ५ अर्ब ८८ करोड ४० लाख ८४ हजार ७३३ रुपैयाँ हिनामिना भएको अभियोग पत्रमा उल्लेख छ । जसमा शिवकुमार स्वयम्ले २ अर्ब ७१ करोड ३१ लाख ६० हजार २४ रुपैयाँ, उनका बुबा इन्द्रकुमार विश्वकर्माबाट २ अर्ब ४५ करोड ७७ लाख १७ हजार ५७६ रुपैयाँ, उनकी आमा स्व.विष्णुमाया विश्वकर्माबाट ७१ करोडभन्दा बढी रकम असुल गर्नुपर्ने अभियोगपत्रमा उल्लेख छ ।
यस्तै अभियुक्त मन्दिरा लामिछानेको हकमा १ अर्ब २३ करोड ११ लाख ९१ हजार १ सय रुपैयाँ, मानबहादुर विश्वकर्माको हकमा १ अर्ब ११ करोड ८१ लाख ८१ हजार २१७ रुपैयाँ, हरिकुमार धमाल (विश्वकर्मा)को हकमा ३७ करोड ६१ लाख २४ हजार ३२८ रुपैयाँ, प्रकाश लामगादेको हकमा ४८ करोड १८ लाख ८९ हजार ८९ रुपैयाँ, शुभराज खातीबाट ४३ करोड ७१ लाख ८१ हजार ८२७ रुपैयाँ असुल गर्नुपर्ने अभियोग पत्रमा उल्लेख छ ।
अभियोगपत्रमा शिवकुमार विश्वकर्मा लामिछानेसमेत ३५ जनाको हकमा सहकारी ऐन २०७४ तथा संगठित अपराध निवारण ऐन २०७० बमोजिमको बिगो र सजायको माग दाबी गरिएको छ । उनीहरूलाई सहकारी ऐन २०७४ को दफा १२२ को ख, ग, छ, झ, ञ, ट, ड, ढ र त बमोजिमको कसुर गरेको तथा संठगित अपराध (निवारण) ऐन २०७० को दफा ३ को उपदफा १, २, ३ को खण्ड (क) र ५ बमोजिमको कसुर गरेको दाबी गरिएको छ ।
उक्त सहकारीका संस्थाका सञ्चालक/अध्यक्षलगायतका पदाधिकारीहरू, कर्मचारीहरूसमेतको मिलेमतोमा सहकारीका शेयर सदस्य तथा बचतकर्ताहरूको ५ अर्ब ८५ करोड ९८ लाख ७७ हजार ७३९ रुपैयाँ रकम भराउन माग गर्दै धरान ९ का शङ्कर थापा क्षेत्रीसमेत गरी ४ हजार १६८ जनाले यसअघि नै किटानी जाहेरी दिएका थिए ।
सरकारी वकिलको कार्यालयले भने सेयर धनीहरू शिवकुमार विश्वकर्मा (लामिछाने), मन्दिरा लामिछाने विश्वकर्मा, मानबहादुर विश्वकर्मा, हरिकुमार धमला विश्वकर्मा, याम्बा ल्वागुन भन्ने इन्द्रबहादुर विश्वकर्मासहित ३५ जना सञ्चालक समितिमा रहेकाहरू र अन्य ऋणी गरी २६२ जना विरुद्ध सहकारी ठगी र संगठीत अपराध सम्बन्धी कसुरमा मुद्दा दर्ता गरेको हो । सो सहकारीको कारोबार भने २०७९ जेठ २३ गतेबाट बन्द छ ।
चाटर्ड एकाउन्टेन प्रज्वल अधिकारी शर्माले बराह बचत तथा ऋण सहकारीबारे गरेको विस्तृत अध्ययन प्रतिवेदनमा सञ्चालक समितिका पदाधिकारी तथा सदस्यहरुको नाममा रहेका विभिन्न २५ वटा कम्पनीले ९ अर्ब ६२ करोड ५८ लाख २६ हजार ९७३ रुपैयाँ लगेको देखिएको छ ।
जसमा न्यू बराह ज्वेलरी, न्यूरोड पिपलबोट, बराह इण्डष्ट्रिज, बराह बचत तथा ऋण सहकारी संस्था लि. धरान, भद्रकाली सुनचाँदी पसल लाजिम्पाट, टाइम्स रेमिट प्रा.लि., गोर्खा एण्ड बराह ज्वेलरी इण्डष्ट्रिय प्रा.लि नयाँ रोड पोखरा, न्यू बराह ज्वेलर्स न्यूरोड, बराह नेसनल इन्भेष्टमेन्ट प्रा.लि., बराह मोटर्स प्रा.लि., इन्द्र बराह ट्राभल्स एण्ड टुर्स प्रा.लि., इन्द्र बराह ज्वेलरी प्रा.लि. तालचिखे, नारायण बराह ज्वेलरी, बराह कृषि उपज तथा पशुपालन प्रा.लि., बराह फेमली किचेन प्रा.लि., बराह बाल संसार गेमजोन एण्ड कृपा १६ डि. इन्टरटेन्मेन्ट, बराह भेडेटार मल्टिप्रपोज कम्पनी प्रा.लि. भेडेटार, बराह डिपार्टमेन्ट स्टोर प्रा.लि., बराह प्रोपर्टी सर्भिस प्रा.लि., पिपलबोट बराह ज्वेलर्स प्रा.लि., श्रीपा सुपर मार्केट स्टोर प्रा.लि., बराहा ग्रुप अफ कम्पनी, बराहा चिल्डे«न वल्र्ड प्रा.लि. लगायतका कम्पनी छन् ।
प्रतिवेदनमा व्यक्तिगत बाँकी ऋण रकम लिन भने २७ करोड १५ लाख २७ हजार रुपैयाँ रहेको प्रतिवेदनमा उल्लेख छ । यस्तै ग्रुप कम्पनी, कम्पनीका सञ्चालकलाई, सहकारीका सञ्चालकलाई, बिना धितो साधारण सदस्यलाई र धितो सहित गरी कर्जा लगानी ७१ करोड ३९ लाख ४९ हजार ५३७ रुपैयाँ रहेको र उक्त कर्जाको ब्याज रकम ३६ करोड ३१ लाख ८३ हजार २४६ रुपैयाँ असुल गर्न बाँकी रहेको पनि प्रतिवेदनले औँल्याएको छ ।
सहकारीको सफ्टवेयर रेकर्डका अनुसार बचत रकम ९ अर्ब ७१ करोड ८९ लाख ८० हजार ५२० रुपैयाँ बराबरको रहेको प्रतिवेदनमा उल्लेख छ । यस्तै पासबुकमार्फत सङ्कलित कूल बचत रकम भने १० अर्ब ५१ करोड १ लाख १२ हजार ४६७ रुपैयाँ रहेको प्रतिवेदनमा उल्लेख छ ।
सहकारीको दायित्व रकम १० अर्ब ८९ करोड ९५ लाख २० हजार २३५ रुपैयाँको रहेको छ । जसमा शेयर रकम १० करोड १३ लाख ९७ हजार ३ सय, जम्मा भएको रकम ६८ करोड ९७ लाख ३४ हजार ६४७ रुपैयाँ, बचतको व्याज १ करोड ५५ लाख ३५ हजार ३०६ रुपैयाँ, पासबुक मार्फत ज्वेलरीमा जम्मा भएको बचत ९ अर्ब ७१ करोड ८९ लाख ८० हजार ५२० रुपैयाँ, राजस्व भुक्तानी गर्न बाँकी १ करोड १ लाख ३० हजार ३६८ रुपैयाँ, उठ्न बाँकी ब्याज ३६ करोड ३१ लाख ८३ हजार २४६ रुपैयाँ र अन्य दायित्व ५ लाख ५८ हजार ८४८ रुपैयाँ रहेको प्रतिवेदनको ठहर छ ।
उक्त रकम संकलनको स्रोतमध्ये बैंक मौज्दात ७ लाख २७ हजार ७८०, लगानी (शेयर र बचत) ३८ लाख ७७ हजार ९८३ रुपैयाँ, सुरक्षित ऋण ३ करोड ३३ लाख ८४ हजार १०१ रुपैयाँ, ऋणको ब्याज ३ करोड ३१ लाख ६९ हजार २८१ रुपैयाँ रहेको छ । यस्तै असुरक्षित ऋण ४ करोड ५४ लाख ९८ हजार र त्यसको ब्याज ४ करोड ७१ लाख २० हजार, अन्य प्राप्त रकम २४ लाख ९४ हजार २४३ रुपैयाँ रहेको छ । प्रतिवेदनले सञ्चालकबाट असुल उपर गर्नुपर्ने रकम १० अर्ब ७३ करोड ४३ लाख ४७ हजार ९१३ रुपैयाँ रहेको ठहर गरेको छ ।
भोजपुरबाट धरान झरेका इन्द्र लामिछाने(विश्वकर्मा)ले २०५२ सालमा धरानका लाहुरे परिवारलाई लक्षित गरेर बराह ज्वेलरी इन्टरप्राइजेज स्थापना गरेका थिए । छोटो समयमा लाहुरेको सहर धरानमा मात्र होइन बराह ज्वेलरीले देशभर चर्च कमायो । हङकङ र दुबईमा पनि यसको शाखा खोलिएको थियो । २०६६ सालमा बराह बचत तथा ऋण सहकारी संस्था स्थापना भएको थियो । बराह सहकारी २०७८ सालदेखि नै आर्थिक सङ्कटमा परेको थियो ।