Latest News

चितवनमा दुर्गा प्रसाइको अनुमति विपरीत कार्यक्रममा प्रहरी हस्तक्षेप, ३ जना पक्राउ

durga-pic

तोकिएको स्थानमा भन्दा फरक ठाउँमा कार्यक्रम गर्न थालेपछि दुर्गा प्रसाईको कार्यक्रममा प्रहरीले हस्तक्षेप गरेको छ ।

प्रसाईले भरतपुरको चौविसकोठी चोकमा कार्यक्रम गर्न थालेपछि प्रहरीले हटाउन खोज्दा केहीबेर प्रहरी र प्रसाई पक्षबीच तनावपूर्ण अवस्था सिर्जना भएको थियो । त्यसक्रममा प्रहरीले प्रसाईका ३ जना कार्यकर्तालाई पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय चितवनका प्रवक्ता प्रहरी नायव उपरीक्ष रविन्द्र खनालले जानकारी दिए । ‘प्रशासनले स्वीकृति दिएको ठाउँ भन्दा फरक ठाउँमा कार्यक्रम गर्न थालेपछि प्रहरीले हटाउन खोजेको थियो, ३ जनालाई नियन्त्रणमा लिएका छौं’–प्रहरी नायव उपरीक्षक खनालले भने ।

प्रशासनले दुर्गा प्रसाईलाई केन्द्रीय बस टर्मिनल चोकको एउटा कुनामा कार्यक्रम गर्न अनुमति दिएको थियो । तर प्रसाई पक्षले चौविसकोठी चोक परिक्रम गरेर मात्रै बसपार्क चोकमा कार्यक्रम गर्ने भन्दै माग गरेपछि प्रहरीले चौविसकोठी परिक्रमका लागि पनि अनुमति दिएको थियो । तर उनीहरुले चौविसकोठी चोक परिक्रमा नगरी सोही ठाउँमा कार्यक्रम गर्न लागेपछि प्रहरीले हटाएको हो ।