नेपाली कांग्रेसका विशेष महाधिवेशन मागकर्ता महाधिवेशन प्रतिनिधिहरुले पार्टी विधानको धारा १७ (२) बमोजिम पार्टीको विशेष महाधिवेशन यही पुस २७–२८ गते गर्न माग गर्नुभएको छ । उहाँहरुले आज यहाँ पत्रकार सम्मेलन गरी विधानले तोकेको विशेष महाधिवेशनका लागि दर्ता निवेदनको समयसीमा ‘तीन महिना’ अर्थात् यही पुस २८ गतेभित्रै विशेष महाधिवेशन अनिवार्य रूपमा सम्पन्न गर्नैपर्नेबारेमा ध्यानाकर्षण गराउनुभएको हो ।
साथै उहाँहरुले गत भदौ २३ देखि २४ गतेपछिको विशेष राजनीतिक परिस्थितिमा कांग्रेसलाई थप सुदृढ, गतिशील र जनभावनाअनुरुपको बनाउन, समसामयिक नीति निर्माण गर्न तथा नयाँ ऊर्जा र नेतृत्वसहित पार्टी पुनःनिर्माणका लागि विशेष निर्णय गर्न महाधिवेशन अपरिहार्यताबारे निरन्तर आवाज उठाउँदै आएको उल्लेख गर्नुभएको छ । रासस