तीन दिनयता चितवनमा अत्यधिक चिसो बढेको छ । आइतबारदेखि शीतलहर चल्न थालेपछि चिसो अत्यधिक बढेको हो । तीन दिनयता चितवनको औसत न्यूनतम तापक्रम १२ डिग्री सेल्सियस छ ।
भरतपुर विमानस्थलका अनुसार शनिबार न्यूनतम तापक्रम १० डिग्री सेल्सियस थियो भने आइतबार १३ डिग्री र आज ९सोमबार० न्यूनतम तापक्रम १२ डिग्री सेल्सियस रहेको थियो । सोमबार दिउँसो ३ बजेसम्मको तापक्रम १४ डिग्री रहेको छ । चिसो बढेपछि चितवनको जनजीवनसमेत प्रभावित बनेको छ । स्थानीयबासी घर छेउछाउमा आगो तापेर बस्न थालेका छन् । रमाइलो चोकमा आगो ताप्दै गरेकी भरतपुर–१० की सीता परियारले चिसोका कारण काम नै प्रभावित बनेको बताइन् ।
चिसोले बजारमा समेत भीडभाड कम छ । नारायणघाटमा लामो समयदेखि व्यवसाय गर्दै आएका सूर्यभक्त अधिकारीले चिसो बढेपछि ग्राहक कम आएको बताए ।
तीन दिनदेखि भरतपुर विमानस्थल बन्द
चिसो बढेसँगै भरतपुर विमानस्थल तीन दिनदेखि बन्द छ । विमान उडानका लागि मौसम सफा नभएपछि शनिबारदेखि नै उडान ठप्प रहेको भरतपुर विमानस्थलका वरिष्ठ अधिकृत भुवन थापाले बताए । ‘लगातार तीन दिनदेखि उडानका लागि चाहिने भिजिविलिटी पुगेको छैन, अहिले विमानस्थल बन्द छ,’ उनले भने ।
भरतपुर विमानस्थलको भिजिविलिटी सोमबार ११ सय मिटर मात्रै छ । बादलको उचाइ भने १५ सय फिट माथि नै छ । विमान उडानका लागि न्यूनतम् भिजिविलिटी ५ हजार मिटर आवश्यक हुन्छ । बादलको उचाइ भने १५ सय फिटभन्दा माथि हुनुपर्छ । सोमबार बादलको उचाइ मापदण्डअनुसार पुगे पनि भिजिविलिटी नपुग्दा उडान प्रभावित बनेको थापाले बताए ।
भरतपुर विमानस्थलबाट हाल बुद्ध एयरको दैनिक ७ वटा उडान हुँदै आइरहेको छ । एटीआर ७२ र ४२ विमानले काठमाडौं र पोखरा उडान भर्दै आइरहेको छ । विमान उडान हुन नसक्दा यात्रुको टिकट रकम फिर्ता गर्न थालिएको बुद्ध एयर भरतपुरका स्टेसन म्यानेजर भक्तबहादुर बस्नेतले बताए ।
भरतपुर विमानस्थल हुँदै दैनिक ५ सयभन्दा बढी यात्रु चितवन–काठमाडौं आवातजावत गर्दै आइरहेका छन् । अहिले उडान ठप्प हुँदा विमानस्थल सुनसान बनेको छ । हवाई जहाजमार्फत यात्रा गर्ने यात्रुले चितवनबाट काठमाडौं जाँदा ४ हजार ६ सय १५ रुपैयाँको टिकट काट्नु पर्नेछ भने काठमाडौंबाट चितवन आउँदा ४ हजार ७ सय १५ रुपैयाँ टिकट शुल्क रहेको छ ।