भरतपुर महानगरपालिकाले मङ्गलबारदेखि तेस्रो चरणको ‘समुदायसँग मेयर स्वास्थ्य कार्यक्रम’ भरतपुर–६, गीतानगरबाट सुरू गरेको छ ।
कार्यक्रमको शुभारम्भ गर्दै महानगर प्रमुख रेनु दाहालले महानगरवासी सामान्य स्वास्थ्य उपचारबाट वञ्चित हुनु नपरोस् भनेर जनताको घरमै पुगेर स्वास्थ्यकर्मी र राज्यका निकायले सेवा दिनुपर्छ भन्ने भावनाका साथ महानगरका सबै वडामा अभियान चलाइएको बताइन् ।
यस कार्यक्रमअन्तर्गत महानगरभित्रका २९ वटै वडामा ज्येष्ठ नागरिक, अशक्त र अपाङ्गता भएका नागरिकको टोल–टोलमा चिकित्सक र स्वास्थ्यकर्मीको टोली प्रयोगशालासहित घर–घरमै पुगेर जेनरल स्वास्थ्य, प्रजनन स्वास्थ्य र मानसिक तथा पाठेघरको मुखको क्यान्सर परीक्षणलगायतका स्वास्थ्यसेवा उपलब्ध गराउने मेयर दाहालले जानकारी दिइन् ।
नियमितरुपमा अस्पताल धाउन नसक्ने, व्यस्त जीवनशैलीका कारण स्वास्थ्य जाँचमा पछि परिरहेका नागरिक तथा स्वास्थ्यसेवाबाट टाढा रहेका समुदायलाई लक्षित गरी कार्यक्रमले प्रभावकारी पहुँच सुनिश्चित गर्ने लक्ष्य राखेको उनले बताइन् ।
शुभारम्भ समारोहमा उपप्रमुख चित्रसेन अधिकारीले समुदायसँग मेयर स्वास्थ्य कार्यक्रम सुरूवात गरी लक्षित वर्ग, असहाय, अतिविपन्न, ज्येष्ठ नागरिक, सीमान्तकृत, अपाङ्गता भएका व्यक्तिका लागि आवश्यकताअनुसार समुदायका घर तथा टोलमा स्वास्थ्यकर्मी परिचालन गरी स्वास्थ्यसेवा प्रदान गरिएको बताए । असहाय र विपन्न परिवारको पहिचान गरी महानगरपालिकाले नै स्वास्थ्य बिमा गर्ने व्यवस्था मिलाउने तथा छोरीसँग मेयर कार्यक्रमअन्तर्गत महानगरभित्र स्थायी बसोवास गरी सरकारी स्वास्थ्य संस्थामा जन्म हुने छोरीका लागि छोरी बिमा कार्यक्रमलाई निरन्तरता दिइएको उनले बताए ।
प्रमुख प्रशासकीय अधिकृत लक्ष्मीप्रसाद पौडेलले नागरिकलाई स्थानीय तहबाटै स्वास्थ्य सुरक्षालाई सुदृढ बनाउने, नागरिकलाई निःशुल्क तथा सरल स्वास्थ्यसेवा उपलब्ध गराउने र रोकथाममुखी स्वास्थ्य प्रणालीलाई सशक्त बनाउने प्रयासका रुपमा यो कार्यक्रम अत्यन्त मह¤वपूर्ण कदम बनेको बताए ।
कार्यक्रममा महानगरका स्वास्थ्य विज्ञ सल्लाहकार डा. भोजराज अधिकारीले सानो उपचारले ठूलो क्षति न्यूनीकरणका लागि मेयरसँग स्वास्थ्य कार्यक्रममार्फत टोल–टोलमा ज्येष्ठ नागरिकको स्वास्थ्य उपचार गर्न थालिएको बताए ।
कार्यक्रम २०८० मङ्सिर ३० गते भरतपुर–२४ बाट पहिलो चरणमा महानगरको १४ वटा वडामा र बाँकी १५ वडामा दोस्रो चरणको अभियान वडा नं–२२, पटिहानीबाट सुरू भएको थियो । फागुन ५ गतेसम्म २९ वटै वडामा सञ्चालन भएको कार्यक्रमबाट १६ हजार ९ सय ७१ जना महानगरवासी लाभान्वित भएका थिए ।
भरतपुर महानगरभित्र प्राथमिक स्वास्थ्यचौकी, स्वास्थ्यकेन्द्र, आधारभूत स्वास्थ्यकेन्द्र, नगर स्वास्थ्यकेन्द्र र आयुर्वेद स्वास्थ्यकेन्द्र गरी ४० वटा स्वस्थ्य उपचार केन्द्रहरु रहेका छन् । भरतपुर–६ का वडाध्यक्ष कृष्णलाल श्रेष्ठको सभापतित्वमा कार्यक्रम सम्पन्न भएको थियो ।