Latest News

बीसीए इन्टर हाइस्कुल टी–२० क्रिकेटको उपाधि आयोजक ‘बीसीए’लाई

Winner-pic (1)

चितवनको भरतपुरमा सम्पन्न प्रथम संस्करणको ‘बीसीए इन्टर हाइस्कुल नकआउट क्रिकेट प्रतियोगिता–२०८२’ को उपाधि आयोजक भरतपुर क्रिकेट एकेडेमी (बीसीए)ले जितेको छ ।

भरतपुर–५, समीचोकस्थित एकेडमीको मैदानमा भएको फाइनल प्रतिस्पर्धामा न्यू क्यापिटल कलेज रत्ननगरलाई १९ रनले हराउँदै बीसीएले उपाधि घरमै राखेको हो । उपाधिसंगै बीसीएले नगद ५० हजार रुपैयाँ प्राप्त गर्न सफल भयो भने उपविजेतामै चित्त बुझाएको न्यू क्यापिटलले नगद २५ हजार रुपैयाँ प्राप्त गर्‍यो । विजेता तथा उपविजेताहरुलाई बीसीएका अध्यक्ष सुहान गिरी, प्रतियोगिताका निर्देशक महादीप श्रेष्ठ, प्रतियोगिताका संयोजक दीपेश श्रेष्ठलगायतले पुरस्कार वितरण गर्नुभएको थियो ।
बीसीएले दिएको ११२ रनको लक्ष्य पछ्याएको न्यू क्यापिटल १८.२ ओभरमा ९२ रनमै अलआउट भएपछि बीसीएले उपाधि रक्षा गरेको हो ।

न्यू क्यापिटलका लागि दर्शिल शर्माले सर्वाधिक २० रन बनाए भने अविन क्षेत्रीले १७ रन बनाए । सम्योजन घिमिरेले १३ र शिरिष रखालले १० रन बनाए । बीसीएलाई उपाधि दिलाउन सुयोग केसीले ४ ओभरमा १४ रन खर्चिदै ५ विकेट लिए । उनी प्रतियोगितामा ५ विकेट लिने पहिलो बलर समेत बने । दिलिप पटेलले ३.२ ओभरमा मात्र १० रन खर्चिदै ३ विकेट लिए । दिपु यादव र पुरुषोत्तम अधिकारीले समान एक–एक विकेट लिए ।

यसअघि टस जितेर पहिले ब्याटिङ गरेको बीसीएले निर्धारित २० ओभरमा ८ विकेट गुमाउँदै १११ रन बनाएको थियो । उसका लागि समीर रोका र दिपु यादवले समान २८ रन बनाए भने रोहन साहले २३ र सुयोग केसीले १३ रनको योगदान दिए ।
न्यू क्यापिटलका राज प्रताप क्षेत्री र समीर दराईले समान ३ विकेट लिए भने सम्योजन घिमिरेले एक विकेट लिए । फाइनल खेलको प्लेयर अफ दि म्याच ५ विकेट लिन सफल बीसीएका सुयोग केसी घोषित भए ।

यस्तै विधागत तर्फ न्यू क्यापिटलका दर्शिल शर्मा प्लेयर अफ दि सिरिज घोषित भए भने बेस्ट ब्याटर अर्बिट एकेडेमीका जयप्रकाश कुशहुवा घोषित भए ।

प्रतियोगितामा जिल्लाभरका १६ वटा विद्यालयको सहभागिता रहेको थियो । प्रतियोगिताको सह–आयोजकमा भरतपुर स्पोर्टस क्लव र चितवन जिल्ला क्रिकेट संघले सहकार्य गरेको थियो । प्रतियोगिताको लाइभ पार्टनरमा एक्सपर्ट एजुकेशन एण्ड भिजा सर्भिसेस चितवन रहेको थियो भने इन्टरनेट पार्टनरमा वल्र्डलिंक कम्युनिकेशन नारायणगढ रहेको छ । प्रतियोगिताको प्रत्यक्ष प्रशारण नारायणी खेल लाइभबाट भएको थियो ।