रत्ननगर । चितवनको इच्छाकामना गाउँपालिका वडा नं १ कोलभन्ज्याङका सीमान्तकृत चेपाङ समुदायका बालवालिकाहरुका लागि सर्वोत्तम पिठो वितरण गरिएको छ । सपना भिलेज सोसल इम्प्याक्टले यहाँका ५७ जना बालवालिकालाई सर्वोत्तम पिठो वितरण गरेको हो ।
कोलभन्ज्याङमा आयोजित एक औपचारिक कार्यक्रमका बीच सपना भिलेजका अध्यक्ष धु्रव गिरीले बालबालिकाका लागि अभिभावकलाई पिठो हस्तान्तरण गरेका थिए । पौष्टिक आहारको अभाव र पेटभरी खान नपाएका कारण चेपाङ बालबालिकाहरुमा कुपोषणको समस्या देखिदै आएको छ । विकट पहाडी क्षेत्रका सीमान्तकृत चेपाङ समुदायका बालबालिकाहरुमा कुपोषणको समस्या विकराल बन्दै गएपछि पौष्टिक आहारको रुपमा सर्वोत्तम पिठो वितरण गरिएको सपना भिलेजका अध्यक्ष गिरीले बताए ।
गर्भबती महिलाले पेटभरी खान नपाउदा कमजोर बच्च जन्मिने गरेका छन् । आमाको गर्भमा हुँदा समेत पौष्टिक आहार नपाएका बालबालिकाहरु जन्मिसकेपछि पनि राम्रो स्याहार सुसार र खानपान पाउदैनन् अध्यक्ष गिरीले भने हामीले शिशु देखि बृद्ध सम्मको स्वास्थ्यलाई ख्याल गरी काम गरेका छौं । कार्यक्रममा सर्वोत्तम पिठो प्रयोग गर्ने तरिका समेत सिकाइएको थियो । चेपाङ समुदायका महिलाहरुको स्वास्थ्य जोगाउन सुधारिएको चुलो वितरण गर्न चेपाङ बस्ती पुगेको सपना भिलेजको टोलीले वालबालिकालाई सर्वोत्तम पिठो वितरण गरेको हो । सपना भिलेजले यहाँका ७०० घरघुरीलाई सुधारिएको चुलो वितरण गरेको छ ।