Latest News

रत्ननगर खानेपानीको साधारण सभा : भूमिहिनलाई किस्ताबन्दीमा धारा

461772792_1061006311815118_7387013605650127908_n

रत्ननगर । रत्ननगर खानेपानी तथा सरसफाई उपभोक्ता संस्थको १४औं बार्षिक साधारण सभा सोमबार गरिएको छ । रत्ननगर नगरपालिकाका मेयर प्रलाद सापकोटाले उद्घाटन गरेको कार्यक्रममा संस्थाका अध्यक्ष माधव प्रसाद अर्यालले आर्थिक बर्ष २०८०/८१ को बार्षिक प्रतिवेदन तथा आर्थिक बर्ष २०८१/८२ को प्रस्तावित कार्यक्रम प्रस्तुत गरेका थिए ।

सो अबसरमा उनले आगामी आर्थिक बर्षमा रातो कार्ड भएका अपाङ्गलाई निशुल्क, भूमिहिनलाई ५० प्रतिशत छुट दिई किस्ताबन्दीमा धारा जडान गर्ने व्यवस्था मिलाइएको जनाकारी दिए । आगामी आर्थिक बर्षको लागि ९ करोड ८६ लाख ६५ हजार बजेट प्रस्ताब तथा ५५० उपभोक्ता थप गर्ने लक्ष्य रहेको अध्यक्ष अर्यालले जानकारी दिए । साधारण सभाको बन्दसत्रमा सचिव प्रताप डल्लाकोटीले प्रगति प्रतिवेदन, कोषाध्यक्ष सरस्वती लामाले आर्थिक प्रतिवेदन र लेखा संयोजक जीवन नहरकोटीले आन्तरिक लेखा परीक्षण प्रतिवेदन प्रस्तुत गरेका थिए ।

सो अबसरमा मेयर सापकोटाले खानेपानी मानव जीवनलाई नभइ नहुने बस्तुभएका कारण स्वाच्छ खानेपानीका लागि स्थानीय सरकारले सहयोग गर्ने बताए । पानीको मुहान संरक्षण, वितरण प्रणालीमा सुधार र स्रोत संरक्षणमा लगानी गर्न आफु तयार रहेको उनको भनाई छ । कार्यक्रममा उपमेयर यादव प्रसाद पाठकले जलबायु परिवर्तनले खानेपानीको मुहान सुक्दै गएको भन्दै स्रोत संरक्षणमा ध्यान केन्द्रित गर्न आग्रह गरे । मेयर सापकोटाले स्वाच्छ खानेपानीका लागि स्थानीय सरकारले सहयोग गर्ने बताए । पिठुवा खानेपानी तथा सरसफाई उपभोक्ता संस्थाका अध्यक्ष हरिकुमार श्रेष्ठले खानेपानीमा आयकर लगाउने सरकारको निर्णय गलत रहेको भन्दै फिर्ता लिन आग्रह गरे । कार्यक्रममा उत्कृष्ट उपभोक्ता तथा कर्मचारी, निर्तमान कार्यसमिति र लेखा समितिलाई सम्मान गरिएको थिए ।

कार्यक्रममा रत्ननगर नगरपालिकाका संस्थापक मेयर नारायण वन, वडा नं १२ का वडाध्यक्ष सुन्दरमणि सुवेदी, संघीय खानेपानी तथा ढल व्यवस्थापन कार्यालय भरतपुरका प्रमुख सुन्दर सुवेदी, संस्थाका पूर्व अध्यक्ष महेश प्रसाद रौनियार, नेपाली कांग्रेसका नगर उपसभापति कमलनाथ अधिकारी, एमालेका नगर अध्यक्ष इश्वरी प्रसाद अर्याल, माओवादी केन्द्रका नगर अध्यक्ष श्याम बराल, राप्रपाका नगर अध्यक्ष गोविन्द अधिकारी, एकीकृत समाजवादीका नगर उपाध्यक्ष रामहरि अधिकारी लगायतले मन्तव्य राखेका थिए ।

अध्यक्ष अर्यालको अध्यक्षतामा भएको कार्यक्रममा उपाध्यक्ष कृष्णप्रसाद सापकोटाले स्वागत मन्तव्य राखेका थिए । सो संस्थाले आर्थिक बर्ष २०८०/८१ मा १ करोड ८४ लाख ४९ हजार ४८४ रुपैया मुनाफा गर्न सफल भएको छ । साधारण सभामा कोषाध्यक्ष सरस्वती लामाले प्रस्तुत गरेको आर्थिक प्रतिवेदनमा ५ करोड २३ लाख ४१ हजार ८१० आम्दानी भएकोमा ३ करोड ३८ लाख ९२ हजार ३२६ खर्च कटाएर १ करोड ८४ लाख ४९ हजार ४८४ रूपैया मुनाफा भएको जनाएको छ ।