रत्ननगर । रत्ननगर वडा नं ६ स्थित नेपाल श्रृजनशिल बाल संरक्षण केन्द्रको १५औं बार्षिक साधारण सभा तथा तेस्रो सामाजिक परीक्षण कार्यक्रम शुक्रबार गरिएको छ । वडा नं ६ की वडा सदस्य केशरीमाया सुनार प्रमुख अतिथि रहेको सो कार्यक्रममा संस्थाकी सचिव गीता तिवारीले प्रगति प्रतिवेदन तथा शोभा पाठकले संस्थाको आयव्याय प्रस्तुत गरेकी थिइन् ।
सो अबसरमा संस्थाकी अध्यक्ष शुशीला भट्टराईले अनाथ बालबालिकाको संरक्षण, शिक्षा र परिवारमा पुनर्मिलनको लागि बाल संरक्षण केन्द्र स्थापना गरेर सञ्चालन गरेको बताइन् । ८ जना बालबालिका आश्रित केन्द्रले हाल सम्म एक दर्जन बढी बालबालिकालाई शिक्षा र परिवारमा पुनर्मिलन गराइसकेको उनले जानकारी दिइन् । विभिन्न दाताहरुबाट सहयोग संकलन तथा आफ्नै लगानीमा अनाथ बालवालिकालाई शिक्षा प्रदान गरेको उनले बताइन् । कार्यक्रममा रत्ननगर नगरपालिकाकी महिला विकास अधिकृत दीपा घिमिरेले बालसंरक्षण केन्द्रले सरकारी मापदण्ड पुरा गरी सञ्चालन गरेको भन्दै अनाथ बालबालिकाको भविश्य कोर्ने गरी शिक्षा प्रदान भइरहेको बताइन् ।
कार्यक्रममा मृगकुञ्ज मध्यवर्ती उपभोक्ता समितिका अध्यक्ष दुर्गाप्रसाद घिमिरे, डे केयर सेन्टरकी सञ्चालिका विनीमाया मगर, केन्द्रका सल्लहाकार उदयचन्द्र अर्याल, बछौली प्रहरी चौकीका प्रमुख श्याम थापा लगायतले मन्तव्य राखेका थिए । बाल संरक्षण केन्द्रकी उपाध्यक्ष अनिता भूषालले सञ्चालन गरेकी थिइन् ।
केन्द्रलाई हंङकङ निवासी गोकुल बहादुर खड्काले बालबालिकालाई दसैंमा कपडा खरिदको लागि १५ हजार र जर्मन निवासी अलिसा रिमालले एक छाक खाना खुवाउनुको साथै विद्यालय पोसाक र स्टेशनरी सामान खरिदका लागि २७ हजार रुपैया सहयोग गरेको केन्द्रकी अध्यक्ष भट्टराईले जानकारी दिइन् । सामाजिक परीक्षण अन्तर्गत केन्द्रले गरेको काम, उपलब्धि, र सरकारी मापदण्डको पालना लगायतको विषयमा प्रस्तुती गरिएको थियो । सामाजिक परीक्षकका क्रममा सो संस्थाले नेपाल सरकारको नियम र परिधिमा रहेर काम गरेकाे पाइएकाे छ ।