चितवन, असोज १–
चितवनमा पछिल्लो समय रक्तदान कार्यक्रमहरु निरनतर हुन थालेका छन् । रक्त अभियन्ताहरुले रक्तदानको क्षेत्रलाई फराकिलो गर्दै लैजान थालेपछि रक्तदानका कार्यक्रमहरु बढ्दै गइरहेका छन् । १० वर्ष अघि चितवनमै मृत्यु संस्कारमा पनि रक्तदानको कार्यक्रम सुरुवात गरिएको थियो । अहिले त्यसले निरन्तरता पाउँदै गइरहेको छ भने स्मृति दिवसमा पनि रक्तदानले प्राथमिकता पाइरहेको छ ।
करिव २ दशकदेखि रक्तअभियानमा सक्रिय हुँदै आइरहेका वल्र्ड ब्लड डोनर्स अर्गनाइजेशन नेपालका कार्यक्रम संयोजक हरिप्रसाद न्यौपानेका स्वर्गीय बुवा खिमानन्द न्यौपानेको तेस्रो स्मृतिमा वृहत रक्तदान कार्यक्रम हुन लागेको छ । यही शनिबार विहान ७ बजेदेखि भरतपुरस्थित चौविसकोठी चोकमा रक्तदान कार्यक्रम गर्न लागिएको न्यौपानेले जानकारी दिए ।
न्यौपाने परिवार र वल्र्ड ब्लड डोनर्स अर्गनाइजेशन नेपालको आयोजना तथा लायन्स क्लव अफ माडी इको, भुपराज पाठक स्मृति प्रतिष्ठान, माडी, लायन्स क्लव अफ ब्लु स्काई, ब्राइट एजुकेशन नेटवर्क प्रा.लि., माडी जेसीज, ग्रीनल्याण्ड पब्लिक स्कुल, लायन्स क्लव अफ चितवन सूर्यकिरणको सहकार्यमा रक्तदान कार्यक्रम हुन लागेको हो । कार्यक्रममा चितवन मेडिकल कलेज ब्लड बैंकको प्राविधिक सहयोग रहने छ ।
काठमाडौँपछि सबै भन्दा धेरै रगतको खपत हुने जिल्लामा चितवन पर्छ । यहीँ अवस्थालाई ख्याल गर्दै चितवनमा रक्तदान कार्यक्रम निरन्तर हुँदै आइरहेको छ ।
यस्तै सोही कार्यक्रममा राष्ट्रिय रक्तदान उत्प्रेरणा पुरस्कार समेत प्रदान गरिदैछ । देशभरमा निरन्तर सेवाभाव खटिई रक्तदान अभियानमा सक्रिय अभियन्तालाई सम्मान गर्न लागिएको न्यौपानेले जानकारी दिए ।