भरतपुर । सेन्ट्रल मोडल कलेजले भरतपुर महानगरपालिकाका ६४ जना विद्यार्थीलाई पचास प्रतिशत छात्रबृत्ती दिने घोषणा गरेको छ । भरतपुर ओरालोमा रहेको कलेजले विहीबार पत्रकार सम्मेलनको आयोजना गरी कलेजबाट सञ्चालित व्याचलर अफ इन्फरमेशन म्यानेजमेन्ट (बिआईएम) र व्याचलर अफ होटल म्यानेजमेन्ट (बिएचएम) कार्यक्रममा छात्रबृत्ती घोषणा गरेको हो । कलेजका अध्यक्ष यज्ञ विलास (वाइबी) पौडेलले संविधान दिवसको अवसर पारेर बिशेष छात्रवृत्ती घोषणा गरेको बताउनुभयो । उहाँले उच्चशिक्षाको पहुँचलाई थप प्रवद्र्धन गर्न कलेजमा सञ्चालित बिआइएम र बिएचएम अध्ययनका लागि भरतपुर महानगर भित्रका ६४ जना विद्यार्थीलाई पचास प्रतिशत छात्रवृत्ती उपलब्ध गराउने बताउनुभयो । महानगरपालिकाका २९ वटै वडाका एक/एक विद्यार्थी र यहाँका ३५ सामुदायिक विद्यालयबाट कक्षा १२ उत्तीर्ण गरेका एक/एक विद्यार्थीलाई पचास प्रतिशत छात्रबृत्ती प्रदान गरिने अध्यक्ष पौडेलले बताउनुभयो । ‘विपन्न, जेहेनदार विद्यार्थीलाई वडाको हकमा वडाको निर्णयसहित सिफारिस र विद्यालयको हकमा विद्यालयको निर्णयसहितको सिफारिस आवश्यक पर्नेछ, उहाँले भन्नुभयो, यसरी सहभागी हुने वडा र विद्यालयका विद्यार्थीले बिआइएम अथवा बिएचएम अध्ययनमा छात्रबृत्ती प्राप्त गर्नेछन ।’ छात्रवृत्ति अन्तर्गत बिएचएम अध्ययनका लागि लाग्ने चार बर्षको शुल्क ६ लाख मध्ये ३ लाख र बिआएएम अध्ययनका लागि लाग्ने शुल्क ५ लाख मध्ये २ लाख पचास हजार रुपैंयामा अध्ययन गर्न पाइने प्रिन्सिपल पौडेलले बताउनुभयो । यस छात्रवृत्तीले विभिन्न क्षेत्रका मेधावी विद्यार्थीलाई आर्थिक समस्या बिना नै उत्कृष्ट उच्चशिक्षा हासिल गर्ने अवसर प्राप्त हुने कलेजले अपेक्षा गरेको छ । यी कार्यक्रमहरूलाई सफलतापूर्वक सञ्चालन गर्न कलेजले आधुनिक प्रविधिमा आधारित कक्षाहरू सञ्चालन गरिरहेको छ । ‘यसले विद्यार्थीहरूलाई दक्षता विकासमा मात्र नभई उनीहरूलाई व्यवहारिक ज्ञान र सीपहरू प्रदान गर्न मद्दत गर्ने विश्वास कलेजले लिएको छ । सेन्ट्रल मोडल कलेजले ‘पढ्दै कमाउँदै’ अवधारणा अपनाएको छ । यसले विद्यार्थीलाई आर्थिक रुपले सक्षम हुने अवसर समेत प्रदान गर्ने अध्यक्ष पौडेलले बताउनुभयो । ‘विद्यार्थीहरूले पढाईको साथसाथै व्यवसायिक अनुभव पनि लिनेछन्, जुन उनीहरूको भविष्यका लागि अत्यन्तै महत्वपूर्ण हुनेछ,उहाँले भन्नुभयो । पत्रकार सम्मेलनमा अध्यक्ष पौडेलले तीन जना चेपाङ समुदायका छात्रछात्रालाई पूर्ण छात्रवृत्ती दिने यस अघिनै घोषणा गरिसकेको बताउनुभयो ।