काठमाडौं, १ असोज । यो वर्षको सोह्र श्राद्ध भोलि (बुधबार)देखि शुरु हुँदैछ। चलनमा रहेको पञ्चाङ्ग (पात्रो) अनुसार असोज २ गते पूर्णिमा तिथिका दिन प्रतिपदा तिथिको श्राद्ध गरी सोह्र श्राद्ध शुरु गरिँदैछ।
असोज २ गते पूर्णिमा तिथि ८ बजेर ४३ मिनेटसम्म रहनेछ। त्यसपछि प्रतिपदा (परेवा) तिथि लाग्ने भएकाले पहिलो तिथिको श्राद्ध यही दिन गरिँदैछ।
मूल वैदिक परम्पराअनुसारको तिथिपत्रअनुसार पनि असोज २ गते प्रतिपदा शुरु भई १६ गते औँसी छ। वैदिक परम्परामा तिथि टुट्दैन। एक सूर्योदयदेखि अर्को सूर्योदयसम्म एउटै तिथि रहन्छ। सनातन धर्मावलम्बीले आश्विन कृष्ण पक्षलाई पितृपक्षका रूपमा मनाउँछन्।
आमाबाबु नहुनेले यो पक्षभरि नियममा बस्ने र पितृमध्ये एकको तिथिलाई आधार मानेर श्राद्ध गर्छन्। तिथिमै गर्न नसके अन्तिम दिन औँसीमा श्राद्ध गर्ने परम्परा छ। यो पक्षका १५ दिनमा अघिल्लो वा पछिल्लो पक्षको एक तिथिसमेत समावेश गरी सोह्र तिथिमा श्राद्ध गरिने भएकाले सोह्र श्राद्ध भनिन्छ।
भाद्रशुक्ल पूर्णिमादेखि आश्विनकृष्ण औँसी वा आश्विनकृष्ण प्रतिपदादेखि आश्विनशुक्ल प्रतिपदासम्मका तिथिलाई लिएर सोह्र दिन पुर्याइन्छ। यी १६ तिथिमध्ये आफ्ना पितृ दिवंगत भएको एक तिथिमा श्राद्ध गर्ने परम्परा छ। सोह्र श्राद्धमा पिता (बुबा) तर्फका तीन र माता (आमा) तर्फका तीन पुस्तालाई पिण्ड दिएर श्रद्धा अर्पण गरिन्छ।
यो वर्षको मघा श्राद्ध १३ गते आइतबार द्वादशीका दिन परेको छ। मातामह (मावलीका हजुरबुबा) को श्राद्ध गर्ने दिन आश्विन शुक्ल प्रतिपदा १७ गते परेको छ।