भरतपुर । नेपालमा बर्षेनि सरदर सात हजारले आत्महत्या गर्ने गरेको तथ्याङ्क सार्वजनिक भएको छ । चितवन मेडिकल कलेज भरतपुरले विश्व आत्महत्या रोगथाम दिवसको दिन मंगलबार पत्रकार सम्मेलनको आयोजना गरी नेपालमा बर्षेनि सात हजारले आत्महत्या गर्ने गरेको र त्यसको कारण मानसिक रोग भएको जनाएको छ ।
अस्पतालले प्रहरीलाई उदृत गर्दै आत्महत्या गर्नेमा ९० प्रतिशत मानसिक रोगी र १० प्रतिशत मात्र अन्य कारण रहेको जानकारी दिएको हो । पछिल्लो १० बर्षमा नेपालमा मानसिक रोगका कारण आत्महत्या गर्ने क्रम बढेको छ । विश्वमा सबैभन्दा धेरै आत्महत्या गर्ने देशको सूचीमा नेपाल दशौं भित्र पर्छ । नेपालमा धेरैजसो लागू औषधको कुलतले मानिस मानसिक रोगको शिकार हुँदै आइरहेका छन् । आर्थिक बर्ष २०७१/७२ मा ४ हजार ३३२, २०७२/७३ मा ४ हजार ६८०, २०७३/७४ मा ५ हजार १२४, २०७४/७५ मा ५ हजार ३१७, २०७५/७६ मा ५ हजार ७५४, २०७६/७७ मा ६ हजार २७९, २०७७/७८ मा ७ हजार १४१, २०७८/७९ मा ६ हजार ८३०, २०७९/८० मा ६ हजार ९९३, २०८०/८१ मा ७ हजार २२३ जनाले आत्महत्या गरेको अस्पतालका मनोरोग विशेषज्ञ डा.खगेन्द्र काफ्लेले जानकारी दिए ।
उनले आत्महत्याको मुख्य कारण नै मानसिक रोग भएको बताए । उपत्यका बाहिर सबैभन्दा धेरै मनोरोगको उपचार गर्दै आइरहेको चितवन मेडिकल कलेज (सिएसी)मा दैनिक ११० जनाको हाराहारीमा बिरामी उपचारका लागि आउने गरेका छन् । ती मध्ये करिव १० जनामा कडा खालको मानसिक रोग लागेको देखिएको अस्पतालका चिकित्सक सीपी सेढाईले जानकारी दिए । धेरै जसो उपचारका लागि आउने गरेका बिरामीलाई आफू मानसिक रोगी भएको महसुस गर्ने गरेका हुँदैनन् डाक्टर सेढाईले भने उनीहरुलाई परामर्श पछि औषधि उपचार गर्ने गरिएको छ । सिएमसीले २०६४ भदौदेखि नै मनोरोगको उपचार सुरु गरेको थियो । सुरुमा आकस्मिक कक्षमा दुई वटा शैयाबाट सुरु गरिएको यो सेवा अहिले ३० शैयाको बनेको अस्पतालका प्रमुख कार्यकारी अधिकृत प्रताप देवकोटाले जानकारी दिए ।
अस्पतालमा गत आर्थिक वर्षमा १६ हजार ८३४ जना मनोरोगका बिरामीको उपचार गरिएको अस्पतालले जनाएको छ । जसमध्ये ५०९ जना भर्ना भएरै सेवा लिएका थिए । मनोरोगको उपचार गराउन आउनेमा ५५ प्रतिशत महिला छन् भने ४५ प्रतिशत पुरुष रहेको देवकोटाले जानकारी दिए । आत्महत्या गर्नेमा महिला भन्दा बढी पुरुष हुने गरेको चिकित्सक उनले जानकारी दिए । सो अस्पतालले औषधिको प्रयोगसंगै विद्युतीय उपचार (इ.सिटी), परामर्श, साइकोथेरापी विधिको प्रयोग गरेर मानसिक रोगको उपचार गर्दै आएको छ ।
मनोरोग विशेषज्ञ डाक्टर काफ्लेले मनसिक रोग लाग्नुको कारण बंशानुगत, आमा बाबुबाट बाल्यवस्थामा टाढा रहनाले, हर्मोनको गडबढी, शारीरिक रोग लामो समयमा लागेमा, बिरामी हुनु अघिको व्यक्तित्व, तात्कालिन घटनाक्रम, पारिवारिक अस्वस्थ सम्बन्ध, लागू पदार्थ सेवन, गर्भावस्थामा संक्रमण, मस्तिष्कको वृद्धिमा रोक, समाजबाट टाढा रहनाले र टाउकोको चोटपटक भएको बताए ।