Latest News

नाम कर्णाली राजमार्ग, अवस्था कच्ची सडकको

yatra-kalikot-premraj

कालीकोट,२४ भदौ । बर्खाभरि कर्णाली राजमार्गको यात्रा निकै कष्टकर हुने गरेको छ । यात्रा कष्टकर हुँदा सर्वसाधारण यात्रुले निकै दुःख पाउने गरेका छन् । यसका साथै पटक पटक अवरुद्ध हुने राजमार्गको यात्रा असुरक्षितसमेत हुने गरेको छ । नाम राजमार्गको भए पनि अवस्था भने कच्ची सडकको जस्तै भएको स्थानीयकाे गुनासो छ ।

पहिरोका कारण सडक अवरुद्ध हुँदा पैदल हिँड्ने बाटोसमेत नहुँदा पहिरोमा परेर मानिसको ज्यान जोखिममा पर्ने गरेको छ । रास्कोट नगरपालिका–७ का जैदन रोकायाले आफू सुर्खेतबाट घर फर्कंदा सडकमा पहिरो आएका कारणले पैदल हिँड्ने बाटो नपाउँदा तीन दिनसम्म थुनिएको बताए । उनले भिरको बाटोबाट जानुपर्ने अवस्था आएको भन्दै तीन दिनपछि बल्लतल्ल खुट्टा टेक्ने ठाउँ पाएर घर गएको बताए। त्रासैत्रासबिच घर पुगेको उनको पीडा छ ।

यस्तै समस्या बर्दियाका किरण पौडेलले पनि भोग्नु परेको छ । एक गैरसरकारी संस्था जुम्लामा कार्यरत पौडेल सुर्खेतबाट फर्कने क्रममा निकै सास्ती भोग्नु परेको पीडा पोखे । दैलेखको आठबिसको मालाचौरदेखि कालीकोटको शुभकालिका गाउँपालिका–१, एसमोडसम्म सडक ठाउँ ठाउँमा भासिएकाले पैदल हिँड्न पनि नसक्दा निकै दुःख पाएको उनले सुनाए ।

पौडेलले कतिपय ठाउँमा सडकको अनुमानसमेत नभएकाले पैदलयात्रीले पनि निकै जोखिम मोल्नु परेको बताए । अनुमानका भरमा एकअर्कालाई समातेर पैदल हिँड्नु परेको उनको भनाइ छ । दुःखको समयमा देखाउनुपर्ने मानवीय भावनासमेत यस्तो बेला कसैले नदेखाएको दुःखेसो उनले गरे ।

कर्णाली राजमार्गमा यात्रुले सास्ती पाउने गरेका छन् । पहिरोले गर्दा बन्दमा पर्नु एकातिरको समस्या हो भने अर्कातिर हिलाम्मे भएका सडकमा गाडी चढ्न नसक्दा घण्टौँ एकै ठाउँमा कुर्नुपर्ने समस्या छ । कर्णाली राजमार्गमा लामो समयदेखि ट्रक चलाउँदै आएका बाँकेका धनबहादुर विकले दुःख सम्झँदा पीडाबोध हुने बताए ।