Latest News

खैरहनी २ मा नयाँ काम : घरमै मृत्यू दर्ताको प्रमाणपत्र

455304670_1698446597363890_379341585834449197_n

खैरहनी । खैरहनी नगरपालिका वडा नं २ ले एउटा रचनात्मक कामको सुरुवात गरेको छ । सो वडा कार्यालयले वडाबासी कसैको मृत्यू भएमा १३ दिनको दिनमा मृत्यूदर्ताको प्रमाणपत्र घरमै पुगेर हस्तान्तरण गर्ने जस्तो रचनात्मक कामको सुरुवात गरेको हो ।

दुःखमा परेको परिवारलाई जनप्रतिनिधिको टोली घरमै पुगेर समवेदन प्रकट गर्ने र मृत्यू दर्ताको प्रमाणपत्र समेत हस्तान्तरण गरेर स्थानीय सरकार रहेको अनुभूति दिलाउने गरी नयाँ कार्यक्रम सुरु गरिएको वडाध्यक्ष रोहिणीप्रसाद उप्रेतीले जानकारी दिए । सो वडाले बुधबार स्वर्गीय डम्बिर पुन मगरको घरमै पुगेर मृत्यु दर्ताको प्रमाणपत्र हस्तान्तरण गरेको हो । मृत्यू भएका व्यक्तिलाई श्रद्धान्जली दिने र परिवारलाई समबेदना सहित मृत्यू दर्ता घरमै पुगेर हस्तान्तरण गर्ने कार्यक्रम सुरु गरेको र यसले निरन्तरता पाउने वडाध्यक्ष उप्रेतीले बताए ।

वडा अध्यक्ष उप्रेती सहित वडा सदस्यहरु युवराज बोगती, कमला खनाल, आशी दराई, मिना सुनार र वडा सचिव सुभाष कुँवर स्वगीय पुन मगरको घरमै पुगेर परिवारका सदस्यलाई मृत्यू दर्ताको प्रमाणपत्र हस्तान्तरण गरेका हुन् । घटना दर्ता अन्तर्गत मृत्यू भएको ३५ दिन भित्र मृत्यू दर्ता गरे सरकारलाई शुल्क तिर्नुनपर्ने व्यवस्था रहेको छ ।