Latest News

सौराहामा भदौं १० गते खानेपानी महासंघको राष्ट्रिय भेला हुने

456045452_1189522088765861_2980504056870916040_n

रत्ननगर । चितवनको पर्यटकीय नगरी सौराहामा यही भदौ १० गते खानेपानी महासंघको राष्ट्रिय भेला हुने भएको छ । खानेपानी उपभोक्ता संस्थाले आर्जन गरेको मुनाफामा २५ प्रतिशत आयकर लगाउने सरकारी निर्णय र पानी वितरणमा देखिएको समस्याको बारेमा निर्णय गर्न भेलाको आयोजना गरिएको हो ।

सरकारका मन्त्री, सांसद, स्थानीय सरकारका प्रमुखहरुलाई भेला गरी खानेपानी संस्थाहरुले पानी वितरणमा भोग्दै आएको जटिलता दर्साउदै निर्णय फिर्ताको लागि सरकारलाई दवाव दिने उद्देश्यले भेला आयोजना गरिएको खानेपानी महासंघ चितवनका अध्यक्ष धनबहादुर गुरुङले जानकारी दिए । भेलाले सौराहा घोषणापत्र जारी गर्दै निणर्य फिर्ताको लागि दवाद दिने छ ।

मंगलबार रत्ननगर खानेपानी तथा सरसफाई उपभोक्ता संस्थामा जिल्ला भित्रका खानेपानी संस्थाका अध्यक्ष तथा पदाधिकारीहरु बीच सरकारले लगाएको आयकर र पानी वितरणमा भइरहेको समस्या र भेलाको तयारीको विषयमा छलफल गरिएको छ । सो कार्यक्रममा स्थानीय स्तरमा भेला व्यवस्थापन समिति र भेलामा प्रस्तुत गर्ने प्रारम्भीक विषयमा छलफल गरिएको खानेपानी महासंघ रत्ननगरका अध्यक्ष तता रत्ननगर खानेपानीका अध्यक्ष माधवप्रसाद अर्यालले जानकारी दिए । सरकारको निर्णय विरुद्ध देशव्यापी रुपमा आवाज उठाउनु पर्ने परिस्थिति सृजना भयो उनले भने हामी गैरनाफामुलक संस्था हौं, सरकारलाई आयकर तिर्न सक्ने अबस्था छैन् ।

भेलामा आयकर लगाउने सरकारको निर्णय फिर्तासंगै विद्युत महसुल र इन्धनमा छुट, प्यानको समस्या, पाइपलाइनमा क्षति हुँदा क्षति गर्ने व्यक्ति वा संस्थाले क्षतिपूर्ति तिर्नुपर्ने व्यवस्था, बक्यौदा महसुल असुलीको लागि स्थानीय सरकारले सेवा प्रदान गर्दा खानेपानीको विल अनिवार्य गर्नुपर्ने, विकास निर्माणको क्रममा खानेपानीको संरचनामा क्षति हुन सम्भावनालाई मध्यनजर गरी तीनै तहका सरकारले विकासको योजनामा बजेट विनियोजन गर्दा संरचना मर्मतको लागत रकमको व्यवस्था गर्नुपर्ने लगायतका विषयमा छलफल हुने अध्यक्ष अर्यालले बताए ।

भेलामा केन्द्रीय समिति र कन्तिमा ५० जिल्लाका खानेपानी तथा सरससफाई उपभोक्ता संस्थाका प्रतिनिधिहरु सहभागी हुनेछन् । रत्ननगर खानेपानी तथा सरसफाई उपभोक्ता संस्थाको अगुवाईमा भएको अन्तक्र्रिया कार्यक्रममा माधव प्रसाद अर्याल संयोजक रहेको भेला व्यवस्थापन समिति गठन गरिएको छ । समितिको सदस्यहरुमा धनबहादुर गुरुङ, राजकुमार भट्ट, महेन्द्र गुरुङ, धनकुमारी रिजाल र शिवलाल भूर्तेल रहेका छन् ।