Latest News

चितवन पूर्ण खोप सुनिश्चितता जिल्ला घोषणा

चितवनलाई पूर्ण खोज घोषणा

चितवन, ३२ साउन । चितवन जिल्लालाई पूर्ण खोप जिल्ला सुनिश्चितता तथा दिगोपना घोषणा गरिएको छ । जिल्लाका साट वटै पालिकामा घोषणा गरी शुक्रबार जिल्लालाई पूर्ण खोप जिल्ला सुनिश्चितता तथा दिगोपना घोषणा गरिएको हो । जिल्ला समन्वय समिति चितवनका प्रमुख नारायणप्रसाद अधिकारीले औपचारिक कार्यक्रमका बीच चितवनलाई पूर्ण खोज सुनिश्चितता जिल्ला घोषणा गर्नुभएको हो ।

घोषणा सभामा बोल्दै प्रमुख अधिकारीले स्थानीय तह र स्वास्थ्यकर्मीहरुको अथकप्रयासबाट जिल्लालाई पूर्ण खोज सुनिचितता घोषणा गर्न सफल भएको भन्दै राज्यका लागि बलियो मानव पूँजी निर्माण गर्न खोप प्रभावकारी हुने बताउनुभयो ।
उहाँले तल्लो तहदेखि खोप कार्यक्रम सफल बनाउन भूमिका खेल्ने महिला स्वास्थ्य स्वयंसेविका लगायत स्वास्थ्य क्षेत्रका सम्पूर्ण सरोकारवालाहरुलाई धन्यवाद ज्ञापन गर्नुभयो । उहाँले भन्नुभयो “हामी सबैको मिहिनेतले चितवन जिल्ला पूर्ण खोप सुनिचितता भएको छ, यसलाई दिगो राख्न अझै मिहिनेत गर्नुपर्छ ।”

घोषणा कार्यक्रममा माडी नगरपालिकाका प्रमुख ताराकाजी कुमारी महतोले घोषणा गरेपछि खुशीसँगै जिम्मेवारी थपिएको बताउनुभयो । उहाँले खेती किसानी र ज्यालामजदुरी गर्न आउने अस्थायी बसोबास गर्नेका बालबालिका छुट्ने गरेको भन्दै माडीका विकट ठाउँहरुमा पूर्ण खोप गराउन चुनौती रहेको बताउनुभयो । खोपको गुणस्तरबारे प्रश्न उठाउँदै प्रमुख महतोले विद्युत सेवा नभएका ठाउँमा खोप सुरक्षित राख्न थप चुनौतीपूर्ण हुने बताउनुभयो ।

महिला स्वास्थ्य स्वयंसेविकाहरु इमामन्दारपूर्वक रमाईरमाई काममा लागेकै कारण खोप कार्यक्रम सफल भएको भन्दै उहाँले उनीहरुका लागि राज्यले हेर्नुपर्ने बताउनुभयो । प्रमुख महतोले भन्नुभयो “महिला स्वास्थ्य स्वयंसेविकाहरुलाई नगरपालिकाले तलब भत्ता दिन नमिल्ने रहेछ, राज्यले यस विषयमा सोच्नुपर्छ ।” उहाँले खोपको दिगोपनका लागि निरन्तर लागिरहने प्रतिबद्धता व्यक्त गर्नुभयो ।

सो अवसरमा खैरहनी नगरपालिकाका उपप्रमुख कविता उप्रेतीले अस्थायी बसोबासीहरु खोपबाट छुट्ने गरेको भन्दै कोही नछुटुन भनेर नगरपालिका लागिपरेको बताउनुभयो । उपप्रमुख उप्रेतीले भन्नुभयो “खैरहनी नगरपालिकाले बाआमा स्वास्थ्य कार्यक्रम अन्तर्गत तीन–तीन महिनामा घरघरमा पुग्ने गरेका छौं, त्यहाँ जाँदा अन्य विषयका पनि तथ्यांक लिने गरेका छौं ।” यसरी लिएको तथ्यांकमा कोही खोपबाट छुटेको पाईएमा पुनः दिने व्यवस्था गरिएको उहाँको भनाई थियो ।

आफू ३० वर्ष महिला स्वास्थ्य स्वयंसेविका भएर काम गरेको अनुभव सुनाउँदै उपप्रमुख उप्रेतीले भन्नुभयो “विगतमा कति जनाले खोप लगाए भन्ने हुन्थ्यो, अहिले कति जना छुटे भन्ने स्थानमा हामी पुगेका छौं ।” ईच्छाकामना गाउँपालिकाका उपाध्यक्ष माया सिलवालले जिल्ला पूर्ण खोप सुनिश्चितता घोषणाले खुशी व्यक्त गर्ने दिन भएको बताउनुभयो । उहाँले वडा, पालिका हुँदै जिल्ल्ला घोषणा भएको चर्चा गर्दै घरघरमा पुगेर खोप दिएको प्रतिफल भएको बताउनुभयो । उहाँले यसलाई निरन्तरता र दिगोपनाका लागि निरन्तर लाग्ने प्रतिबद्धता व्यक्त गर्नुभयो ।

प्रमुख जिल्ला अधिकारी इन्द्रदेव यादवले सबैको सहकार्यले घोषणा सम्भव भएको भन्दै दिगोपनका लागि पनि सबैको सहकार्य आवश्यक हुने बताउनुभयो । कार्यक्रममा जनस्वास्थ्य कार्यालय चितवनका प्रमुख दिनेश रुपाखेतीले प्रतिवेदन प्रस्तुत गर्दै राष्ट्रिय खोप कार्यक्रम नेपाल सरकारको पहिलो प्राथमिकता प्राप्त, लागत प्रभावकारी जनस्वास्थ्यको प्रमुख कार्यक्रम भएको बताउनुभयो । खोप बालबालिकाहरूको नैसर्गिक अधिकार भएको चर्चा गर्दै उहाँले नेपालको संविधान २०७२ तथा खोप ऐन २०७२ मा समेत सम्बोधन गरिएको जानकारी दिनुभयो ।

खोपले रोगहरुलाई निवारण, उन्मूलन र नियन्त्रण गर्ने भन्दै उहाँले भन्नुभयो “खोपबाट बचाउन सकिने रोगहरुलाई शुन्य अवस्थामा कायम गर्ने हो ।” खोप कार्यक्रमबाट हालसम्म बिफर रोगको उन्मूलन भईसकेको भन्दै प्रमुख रुपाखेतीले मातृ नवशिशु धनुष्टङ्कार रोग निवारण, जापानिज इन्सेफलाईटिस, हेपाटाईटिस बी, रुबेला तथा सि.आर.एस नियन्त्रणमा रहेको बताउनुभयो ।

पूर्ण खोप कार्यक्रमका चुनौतीहरु समेत रहेको चर्चा गर्दै उहाँले अपेक्षित प्रगति ९५ प्रतिशत मात्रै रहेको बताउनुभयो । उहाँले भन्नुभयो “सबै तहमा एकरुपता छैन । राष्ट्रिय स्तरको तुलनामा प्रादेशिक, प्रदेशको तुलनामा जिल्लाहरुको र जिल्लाको तुलनामा स्थानीय तहको प्रगतिमा एकरुपता भएको छैन ।” शुन्य खोप तथा ड्रप आउटको संख्या बढ्दै गएको, सुक्ष्म योजना अद्यावधिक र पूर्ण खोप दिगोपना कार्यक्रम प्रभावकारी हुन नसकेको, समय समयमा महामारी रोग देखा परिरहेका र खोप खेर जाने दर उच्च रहेको रुपाखेतीको भनाई छ ।

नेपालमा पूर्ण खोप पाएका बालबालिकाको संख्या ८० प्रतिशत रहेको जानकारी दिंदै उहाँले १६ प्रतिशतले पूर्ण खोप नपाएका र चार प्रतिशतले कुनै पनि खोप नपाएको बताउनुभयो । बागमती प्रदेशमा ८३.४ प्रतिशत बालबालिकाले पूर्ण खोप पाएका छन् भने ९.३ प्रतिशत बालबालिकाले शुन्य डोज पाएका छन् ।

बि.सं. २०६९ सालबाट पूर्णखोप सुनिश्चितता गर्न शुरु गरिएको हो । राष्ट्रिय खोप तालिकामा समावेश भएका १५ महिना उमेर भित्रमा पाउनु पर्ने सबै खोपहरू, सबै बालबालिकाहरूले पूर्ण रुपमा लिएको र पछि तालिकामा अन्य खोपहरू थप भएमा सो समेत लिएको अवस्थालाई पूर्ण खोप भनिने रुपाखेतीको भनाई छ । राष्ट्रिय खोप तालिकामा १५ महिना उमेर भित्रमा पाउनु पर्ने १३ वटा रोग विरुवाको खोपहरु समावेश गरिएका छन् । सो अवसरमा प्रदेशबाट जिल्लालाई प्राप्त प्रमाणपत्र र पालिकाहरुलाई पूर्ण खोप सुनिश्चितता तथा दिगोपना प्रमाणपत्र प्रदान गरिएको थियो ।