चितवन । प्रेस चौतारी चितवनको भवन निर्माणका लागि क्यान्सर अस्पताल भरतपुरमा बरिष्ठ सहायक पदमा कार्यरत दुई जना युवाहरु कृष्णहरि बराल र राजकुमार बस्यालले आर्थिक सहयोग गरेका छन् । भरतपुर महानगरपालिका–११ बसेनीमा निर्माण हुँदै गरेको चौतारीको भवनका लागि बराल र बस्यालले चौतारी चितवनका अध्यक्ष सुवास पण्डितलाई सो रकम प्रदान गरेका हुन् ।
प्रेस चौतारीको देशकै पहिलो भवन चितवनमा निर्माण हुनु र त्यसमा आफूहरुले समेत सहयोग गर्न पाउनु खुसीको कुरा भएको भन्दैं दुबै जनाले पहिलादेखि नै सहयोग गर्ने चाहाना राख्दै आएको बताए । बरालले देशकै पहिलो भवन चितवनमा हुनु गौरवको विषय भएको बताए । यस्तैं, बस्यालले भवनले जिल्लाका पत्रकारहरुको संस्थागत विकासमा सहयोग पुग्ने बताए ।
प्रेस चौतारी चितवनका अध्यक्ष पण्डितले भवनका लागि सहयोग गरेकोमा संगठनको तर्फबाट धन्यवाद दिए । अध्यक्ष पण्डितले सबैको साथ र सहयोगबाट चौतारीको ३ तले भवन तयार हुँदै गरेको बताए ।
चौतारीको भवन निर्माणमा होस्टेमा हैंसे गरेर साथ र संगठन प्रति सेन्ट्रल कलेजले दर्शाएको माया र सद्भाव अनुकरणीय रहेको अध्यक्ष पण्डितले बताए । समाजसेवी केशव कार्कीले प्रेस चौतारी चितवनलाई उपलब्ध गराएको झण्डैं ७० लाख पर्ने १० धुर जग्गामा अहिले भवन बनिरहेको छ । भवन तीन तलाको बन्दैछ । भवनको सबै ढलानको काम सकेर अहिले प्लाष्ट्रर गर्ने क्रम अन्तिम चरणमा छ । भवनमा आर्थिक सहयोग जुटाउन चौतारी चितवनले २०७९ वृहत साँस्कृतिक तथा साहित्यिक कार्यक्रम आयोजना गरेको थियो ।
भवनका लागि विभिन्न व्यक्ति तथा संघसंस्थाहरुले सहयोग गर्दै आएका छन् । भवनको भूईं तलामा कार्यालय कक्ष, पहिलो तलामा हल र तेस्रो तलामा आवासिय सुविधासहितका कोठाहरु रहने अध्यक्ष पण्डितले जानकारी दिए ।