रत्ननगर । नेपाल नगरपालिका संघको आयोजना तथा एफएचआई ३६० परियोजनाको सहयोगमा आयोजित एक औपचारिक कार्यक्रममा चितवनमा एक हजार बढी एचआइभी संक्रमित रहेको तथ्याङ्क सार्वजनिक गरिएको छ ।
एफएचआई ३६० परियोजनाले चितवनमा एक हजार १६० जना एचआइभी सङ्क्रमित उपचारको दायरामा आएको जनाएको छ । प्रदेशगतरुपमा सबैभन्दा बढी बागमती प्रदेशमा २६ प्रतिशत अर्थात् ६ हजार ४५८ जना एचआइभी सङ्क्रमित रहेका । लुम्बिनी प्रदेशमा ४ हजार ६८९, मधेश प्रदेशमा ४ हजार ५८, सुदूरपश्चिम प्रदेशमा ३ हजार ६७५, गण्डकी प्रदेशमा २ हजार ८८६, कोशी प्रदेशमा २ हजार ३११ र कर्णाली प्रदेशमा ७१६ जना एचआइभी सङ्क्रमित रहेको तथ्याङ्क छ ।
कार्यक्रममा एफएचआई ३६० परियोजनाका कन्सल्टेन्ट ईश्वरनाथ मिश्रले नेपालमा एचआइभीको अवस्थाबारे प्रकाश पार्दै ६ लाख ८५ हजार जनसंख्या एचआइभी सङ्क्रमणको उच्च जोखिममा रहेको बताए । असुरक्षित यौनसम्पर्क, लागू पदार्थ तथा लागूऔषध प्रयोगकर्ता, समलिङ्गी, तेस्रोलिङ्गी, यौनकर्मी महिला, आप्रवासी श्रमिक पुरूष र तिनका जीवनसाथी एचआइभी सङ्क्रमणको उच्च जोखिममा रहेको उनले बताए ।
सन् २०२६ सम्म ९५ प्रतिशत सम्भावित एचआइभी सङ्क्रमित पत्ता लगाई उपचारको दायरामा ल्याउने लक्ष्य रहेको बताउँदै उनले नेपालमा १६ हजार पुरूष, १३ हजार महिला र एक हजार बालबालिकामा एचआइभी सङ्क्रमण रहेको तथ्याङ्क प्रस्तुत गर्दै बर्सेनि ४८८ जना नयाँ सङ्क्रमित थपिने गरेको जानकारी दिए । जसमध्ये बर्सेनि एड्सबाट मृत्यु हुनेको संख्या ३४४ जना रहेको र बर्सेनि आमाबाट बच्चामा एचआइभी सर्नबाट २३० जनाको रोकथाम हुने गरेको बताए ।