Latest News

भ्रष्टाचार गरे अनुहार हेरिँदैनः प्रधानमन्त्री ओली

PM_KP_Oli

काठमाडौं २२ साउन । प्रधानमन्त्री केपी शर्मा ओलीले नेपाल समृद्ध र नेपाली जनतालाई सुखी बनाउन आवश्यक रहेको बताएका छन् । सरकारले नागरिकका आवश्यकता पूर्तिसँगै शान्ति सुरक्षाको प्रत्याभूति गर्ने उनले प्रतिबद्धता व्यक्त गरे । प्रतिनिधिसभाअन्तर्गतको राज्यव्यवस्था तथा सुशासन समितिको मंगलबारको बैठकमा उनले आफूले भ्रष्टाचार नगर्ने र अरूलाई पनि गर्न नदिने बताए । “भयानक र खतरनाक तगारो भनेको भ्रष्टाचार हो, यसलाई नियन्त्रण गर्छौँ,” उनले भने ।

उनले सरकारले भ्रष्टाचारका विषयमा कुनै ‘कम्परमाइज’ नगर्ने उल्लेख गरे । भ्रष्टाचार निवारण ऐन, २०५९ लाई संशोधन गर्न बनेको विधेयकमाथिको छलफलका क्रममा उनले सरकारले कसैप्रति आग्रह, पूर्वाग्रह नराख्ने बताए ।

“अहिलेको सरकार कसैप्रति आग्रह, पूर्वाग्रह र कसैलाई दुःख दिने मनसाय, नियत छैन,” उनले भने, “कसैले भ्रष्टाचार गरे अनुहार हेरिँदैन । कानुनको नजरमा सबै बराबर छन् । कानुनको कठघरामा उभ्याउँछौँ ।” प्रधानमन्त्री ओलीले करका दर र दायरा फराकिलो गरेर मात्र नहुने जिकिर गरे । कर छली नहोस् भन्नेतर्फ सरकारको ध्यान रहेको उनको भनाइ छ ।