खैरहनी । चितवनको खैरहनी वडा नं ४ चैनपुर स्थित भूवनेश्वर टोलमा सयपत्री फुलको व्यवसायिक खेती सुरु गरिएको छ । सफा कृषि प्रा.लि र सफा उर्जा उत्पादन प्रा.लिले अर्गानिक खेती प्रणाली मार्फत फुलको व्यवसायिक खेती सुरु गरेको हो ।
कार्तिकमा करिब ६ विगहा क्षेत्रफलमा सुर्यमुखी फुल खेती गर्ने योजना बनाएको सो संस्थाले आगामी तिहारलाई लक्षित गरी १५ कठ्ठामा अर्गानिक सयपत्री फुलको खेती सुरु गरेको हो । संस्थाले चैनपुरमा जग्गा भाडामा लिएर १५ कठ्ठामा सयपत्री फुल खेती सुरु गरेको छ । पूर्वपश्चिम राजमार्गबाट उत्तर तर्फको क्षेत्रलाई एग्रोटुरिजमको रुपमा विकास गर्ने उद्देश्यले व्यवसायिक रुपमा फुलखेती सुरु गरिएको सफा उर्जा उत्पादन प्रा.लिका निर्देशक निर्णय पौडेलले जानकारी दिनुभयो । सफा उर्जाले अर्गानिक खेती र फोहोर व्यवस्थापनको कामलाई संगसंगै अगाडि बढाएर एग्रोटुरिजमको विकास गर्न सुरु गरेको फुलखेतीमा खैरहनी नगरपालिकाले समेत चासो देखाएको छ ।
नगरपालिकाका मेयर शशीकुमार खनिया, उपमेयर कविता उप्रेती, वडा नं ४ का वडाध्यक्ष वेदबहादुर अधिकारी तथा कृषि अधिकृतहरुलाई उपस्थित गराएर सयपत्री फुल रोपिएको निर्देशक पौडेलले जानकारी दिए । सो अबसरमा मेयर खनियाले नगरपालिकाले अर्गानिक उत्पादनलाई जोड दिएको भन्दै सफा उर्जाले सुरु गरेको कामलाई स्थानीय सरकारले रचनात्मक सहयोग गर्ने बताउनुभयो । नगरभित्र गरिने अर्गानिक खेतीलाई स्थानीय सरकारले प्राविधिक सहयोग गर्न तयार रहेको भन्दै उहाँले प्राङ्गारिक खेती प्रणालीको विकासमा हातेमालो गर्न तयार रहेको बताउनुभयो । उपमेयर उप्रेतीले जिल्लामा पहिलो पटक अर्गानिक खेतीप्रणाली मार्फत व्यवसायिक रुपमा सयपत्री फुलको खेती सुरु गर्दा आफु उत्साहित भएको बताउनुभयो । खैरहनीलाई एग्रोटुरिजमको रुपमा विकास गर्न व्यवसायिक रुपमा सयपत्री र सुर्यमुखी फुलको खेती गर्न लागिएको निर्देशक पौडेलले बताए । नेपालमा अर्गानिक उत्पादन चुनौतीपूर्ण रहेको भन्दै उनले व्यवसायिक रुपमा अर्गानिक फुलखेती सफल बनाएर देश विदेशबाट मान्छेहरु हेर्न आउने बाताबरण तयार गर्ने योजना रहेको बताउनुभयो ।