Latest News

राप्तीको समस्याप्रति मेयर गैरजिम्मेवार : जनप्रतिनिधि

405bdbc7-c85b-45e6-8f12-814f3ad16c30

राप्ती । चितवनको राप्ती नगरपालिकामा एमाले र कांग्रेसबाट निर्वाचित जनप्रतिनिधिहरुले सेवा ठप्प हुने गरी विकास भइरहेको समस्या सामधानको लागि मेयर शमशेर लामा गैरजिम्मेवार बनेको आरोप लगाएका छन् ।

विहीबार पत्रकार सम्मेलनको आयोजना गरी उनीहरुले मेयर र उपमेयरको कार्यकक्षमा तालाबन्दी, अदालतमा रिट दायर गर्दा पनि मेयर लामाले कार्यपालिका बैठक र नगरसभा गरेर निकास निकाल्न नखोजेको आरोप लगाएका हुन् । कार्यपालिका बैठक र नगर सभाको माग गर्दै एमाले र काँग्रेसबाट निर्वाचित वडाध्यक्ष सहित बहुमत कार्यपालिका सदस्यहरुले मेयर शमशेर लामा र उपमेयर देवेन्द्र लामाको कार्यकक्षमा गत फागुन ९ गते ताला लगाएका थिए ।

जनप्रतिनिधिले कार्यकक्षमा ताला लगाएपछि मेयर लामाले अस्थायी कार्यकक्ष बनाएर काम गरिरहेका छन् भने उपप्रमुख लामाले न्यायिक समितिको कार्यकक्षबाट सेवा प्रदान गरिरहेका छन् । मेयर लामा ताला नखोली नगर सभा र कार्यपालिका बैठक नगर्ने अडानमा छन् भने आन्दोलनरत जनप्रतिनिधिहरु मेयरले नगर सभा र कार्यपालिका बैठक नबोलाई ताला नखोल्ने पक्षमा रहेका छन् । दुबै पक्षको हटका कारण नगरपालिकाले प्रदान गर्ने सेवा ठप्प भएको छ ।

बहुमत कार्यपालिका सदस्यहरुले कार्यकक्षमा ताला लगाउदा पनि मेयर लामाले निकासको लागि प्रयास नगरेको आन्दोलनरत जनप्रतिनिधिहरुको आरोप छ । एक बर्ष अघिदेखि नगर सभा र कार्यपालिका बैठक बस्न नसकेका कारण नगरपालिकाको सम्पूर्ण सेवा अबरुद्ध भएको हो । राजश्व संकलन, भूक्तानी, दस्तुर लिएर गर्ने सिफारिसको काम रोकिएको छ भने योजना सम्झौता नहुँदा विकास निर्माण अगाडि बढ्न सकेको छैन् । सो नगरपालिकामा बजेट होलिडे हुँदा आर्थिक गतिविधि ठप्प भएको छ । आन्दोलनरत जनप्रतिनिधि चैत २३ गते उच्च अदालत हेटौडामा कार्यपालिका बैठक र नगरसभाको माग गर्दै रिट दायर गरेका थिए ।

रिट दायर गरेको चार महिला वितिसक्दा पनि अदालतले फैसला गर्न गरेको छैन् । नेकपा एमालेबाट निर्वाचित वडा नं ५ का वडाध्यक्ष सीताराम बलले मेयर लामा गैरजिम्मेवार हुँदा राप्तीमा अस्तिरता निम्तिएको भन्दै बहुमत कार्यपालिका सदस्यहरुले हस्ताक्षर गरेर नगरसभा र कार्यपालिका बैठकको माग गर्दै ज्ञापनपत्र बुझाएको बताए । आर्थिक बर्ष २०८०÷८१ को नगर सभाले पारित गरेका योजनाहरुलाई लत्याएर मेयर लामाले रातोकिताबमा आफु खुसी योजना समावेश गरेर अस्तिरताको विजारोपण गरेको बताए । नेपाली कांग्रेसबाट निर्वाचित वडा नं १२ का वडाध्यक्ष अर्जुन चेपाङले मेयर लामाकै कारण कार्यपालिका बैठक र नगर सभा हुन नसकेको बताए ।  जनताले भाटा हान्ने बेला भईसक्यो उनले भने अहिले सम्म सहेर बसेका छन् ।

मेयर लामाले एमाले र कांग्रेसबाट निर्वाचित जनप्रतिनिधिले काम गर्न नदिने नियतले आफुलाई घेराबन्दी गरेको बताए । बहुमतको दम्भले घेराबन्दी गरियो उनले भने जनताको पक्षमा काम गर्न खोज्दा जनप्रतिनिधिकै असहयोग भयो । मेयर लामाले अदालतमा विचराधिक मुद्दको छिनोफानो भएपछि कार्यपालिका बैठक र नगरसभा आयोजना गर्ने बताए । समस्याको निकास निकाल्न छलफल सुरु भएको भन्दै उनले दुबै पक्षले गरेको गल्तीलाई आत्मसाथ गरेर अतिरोध अन्त्य गर्ने पक्षमा आफु रहेको बताए । मेयर लामाले कार्यकक्षमा ताला लगाउनु पर्ने कारण प्रमाणित गरेर देखाउन समेत आन्दोलनरत जनप्रतिनिधिलाई आग्रह समेत गरे ।

७० जनप्रतिनिधि रहेको राप्तीमा एमालेका ८ जना वडाध्यक्ष र ८ जना कार्यपालिका सहित ४९ जना, काँग्रेसका उपमेयर सहित तीन वडाध्यक्ष सहित १७ जना, समाजबादीका मेयर सहित दुई वडाध्यक्ष गरी तीन जना र माओवादीबाट एक जना वडासदस्य निर्वाचित भएका थिए ।