बाढी–पहिरोको जोखिमका कारण चितवनका विद्यालय भोलि बन्द

school in ctwn

चितवन, असोज ८–

चितवनका ७ वटै स्थानीय तहहरुले भोलि (शुक्रबार) एक दिनका लागि विद्यालय बन्द गर्ने निर्णय गरेका छन् ।
जल तथा मौसम विज्ञान विभागले शुक्रबारदेखि तीन दिनसम्म भारी वर्षा हुने अनुमान गर्दै सतर्कता अपनाउन अनुरोध गरेपछि चितवनका सबै पालिकाहरुले एक दिनका लागि विद्यालय बन्द गर्ने निर्णय गरेका हुन् ।

भरतपुर महानगरपालिका, रत्ननगर नगरपालिका, कालिका नगरपालिका, खैरहनी नगरपालिका, माडी नगरपालिका, राप्ती नगरपालिका र इच्छाकामना गाउँपालिकाले आज एक सूचना जारी गर्दै बाढी र पहिरोको उच्च जोखिम देखिएकाले एक दिनका लागि बिदा गर्ने निर्णय गरेको जनाएको छ । माडी नगरपालिकाकी प्रमख ताराकाजी कुमारी महतोले निरन्तर भारी वर्षाले बाढी र पहिरोको जोखिम देखिएकाले एक दिनका लागि विद्यालयमा बिदा दिईएको जानकारी दिइन् । ‘भोलि एक दिनका लागि बिदा दिर्ने निर्णय गरेको छौं, आवश्यकताका आधारमा थप निर्णय गर्छौ’–नगर प्रमुख महतोले भनिन् ।

कालिका नगरपालिकाका नगर प्रमुख विनोद रेग्मीले भारी वर्षाको संभावना देखिएकाले आवश्यकताको आधारमा एक दिनका लागि बिदा दिईएको जानकारी दिए ।

चितवनमा आज विहानैदेखि वर्षा भइरहेको छ । निरन्तरको वर्षाले पहिरोको जोखिम देखिएपछि चितवन प्रशासनले नारायणगढ–मुग्लिन सडक खण्डमा आज राति ८ बजेदेखि भोलि विहान ५ बजेसम्म सवारी आवागमनमा समेत रोक लगाएको छ ।