नेपाल मारवाडी युवा संगठनको अध्यक्षमा विराटनगरका अग्रवाल चयन, उपाध्यक्षमा चितवनका नितेश

nepal marwadi

चितवन, असोज ५–

नेपाल मारवाडी युवा संगठनको केन्द्रीय अध्यक्षमा विराटनगरका गोपाल अग्रवाल सर्वसम्मत चयन हुनु भएको छ ।

चितवनको पर्यटकीय नगरी सौराहामा दुई दिनसम्म चलेको महाधिवेशनबाट अग्रवालको अध्यक्षतामा ३१ सदस्यीय नयाँ कार्यसमिति सर्वसम्मत चयन गरिएको हो । संगठनको उपाध्यक्षमा चितवनका नितेश महेश्वरी र बिर्तामोडका यज्ञराज अग्रवाल चयन हुनु भएको । यस्तै विराटनगरका मोहित लालवानी महासचिव, चितवनका राजु कुमार चौधरी सचिव र हेटौंडाका राहुल सिंगानिया कोषाध्यक्षमा मनोनित भएको अध्यक्ष अग्रवालले जानकारी दिनुभयो । सदस्यमा निर्वाचित भएपछि महासचिव, सचिव र कोषाध्यक्ष गरी तीन जना पदाधिकारीमा मनोनित गरिएका हो।

यस्तै केन्द्रीय सदस्यहरुमा निकुञ्ज अग्रवाल, पियुष कुमार अग्रवाल, रजत अग्रवाल, राहुल बन्सल, आशिष कुमार बोथरा, विजय बाहेती, विकास कुमार गोयल, अभिषेक बोहरा, सौरभ अटल र विशान्त सिंगी जैन चयन हुनु भएको छ । यसैगरि अधिवेशनले क्षेत्रीय सभापति र क्षेत्रीय सचिवहरु समेत चयन गरेको छ । क्षेत्रीय सभापतिहरुमा शिवम अग्रवाल, राजेश कुमार अग्रवाल, चन्द्रकुमार अग्रवाल, दीपक मित्तल, मोहित सेठिया र चेतन मुर्राका रहेका छन् ।

महाधिवेशनको प्रतिनिधिसभा सदस्य पुनम अग्रवालले उद्घाटन गर्दै मारवाडी युवाहरुलाई व्यवसाय, सामाजिक कार्यसंगै राजनीतिमा होमिन आग्रह गरिन् । नेपालको अर्थतन्त्रमा मारवाडी समुदायको महत्वपूर्ण भूमिका रहेपनि राजनीतिमा सधै पछाडी परेको भन्दै अब राजनीतिमा पनि ध्यान दिन उनको आग्रह थियो ।

नेपाल राष्ट्रिय माडवारी युवा संगठनका संस्थापक अध्यक्ष सुरेन्द्र गोल्छाले समाज सेवा माडवारी समाजको जिनमा रहेको बताए । ‘हामीले व्यापारलाई पनि अगाडि बढाएका छौँ । सामाजिक काम पनि गर्दै आएका छौँ’–उनले भने । उनले नयाँ प्रविधिसँग जोडिएर व्यापार गर्न समेत युवालाई सुझाव दिएका छन् । ‘अहिलेको युवा प्रविधिको युग हो,’ उनले भने ‘राष्ट्रिय अन्तराष्ट्रिय विज्ञबाट एआइसम्वन्धी तालिम लिन आवश्यक छ ।’

पर्यटकीय नगरी सौराहामा भएको महाधिवेशनमा २६ जिल्लाबाट करिव २ सय युवाहरुको सहभागिता रहेको थियो । महाधिवेशनमा कोषाध्यक्ष यज्ञराज अग्रवालले आर्थिक प्रतिवेदन र वार्षिक प्रतिवेदन सचिव मोहित लालवलीले प्रस्तुत गर्दै पारित गरिएको थियो ।

महाधिवेशनकै उद्घाटनमा संगठनले गत भदौ १० गते रसुवाको भोटेकोशीमा आएको बाढीले प्रभावित जनताको उद्दार, पुर्नस्थापनाका लागि प्रधानमन्त्री दैवी प्रकोप उद्दार कोषमा आर्थिक सहयोग गरेको छ । संगठनका अध्यक्ष मनोज अग्रवालले ५ लाख १७ हजारको चेक सांसद अग्रवाललाई हस्तान्तरण गरे । मारवाडी युवा संगठनले देशमा आइपर्ने विभिन्न विपत्तीमा सधै साथमा रहेको स्मरण गर्दै बाढी पीडितका लागि पनि आर्थिक सहयोग गरिएको बताए ।