चितवन, भदौ ३१ –
चितवन मेडिकल कलेज (सिएमसी) शिक्षण अस्पतालले बाढीप्रभावित क्षेत्रमा चिकित्सक टोली पठाएको छ ।
अस्पतालले आज बाढी प्रभावित नुवाकोट र रसुवामा सेवा दिन विशेषज्ञ चिकित्सकसहित २१ जनाको टोली पठाएको हो । टोलीले आगामी असोज ५ गतेसम्म बाढीप्रभावित क्षेत्रका विभिन्न ठाउँमा पुगेर निःशुल्क स्वास्थ्य उपचार सेवा दिने छ । टोलीको नेतृत्व गर्नुभएका डा वीरेन्द्र राउतका अनुसार टोलीमा मुटुरोग, जनलर मेडिसिन, हाडजोर्नी, मनोरोगलगायत विशेषज्ञ रहनुभएको छ । टोलीले भिडियो एक्सरे, युरिनरी आर/ई, पिएफटी, ल्याब परीक्षणलगायतका सेवा दिने छ । परीक्षणका क्रममा आवश्यक पर्ने औषधि बिरामीलाई निःशुल्क उपलब्ध गराइने छ ।
अस्पतालका प्रमुख प्रशासकीय अधिकृत प्रताप देवकोटाले आवश्यक देखिएमा थप चिकित्सक टोली पठाइने बताउनुभयो । अहिले गएको टोलीले पाँच दिन काम गर्ने छ । अवस्था हेरेर अर्को टोली वा सोही टोली थप समयसम्म बस्न सक्छ ।
उहाँले भन्नुभयो, “बाढीपछि हुनसक्ने स्वास्थ्य समस्यालाई मध्यनजर गर्दै हामीले स्वास्थ्य टोली पठाएका हाँै ।” सरकारी निकायसँग समन्वय गरेर आवश्यक ठाउँमा सेवा दिइने उहाँको भनाइ छ । रासस