चितवन, साउन ३१-
पूर्वी चितवनको प्रमुख स्वास्थ्य संस्थाका रूपमा रहेको बकुलहर रत्ननगर प्रादेशिक अस्पतालमा उपचारका लागि आउने बिरामीको संख्या निरन्तर बढ्दै गएको छ। विशेषज्ञ चिकित्सकबाट सेवा, उपचारमा आधुनिक प्रविधिको प्रयोग र अस्पतालको स्तरोन्नतिसँगै सेवाग्राहीको संख्या बढेको अस्पतालले जनाएको छ। अस्पतालका अनुसार आर्थिक वर्ष २०८२/८३ मा मात्रै ३ लाख १७ हजार २६६ जनाले उपचार सेवा लिएका छन्। अघिल्लो आर्थिक वर्ष २०८१/८२ मा २ लाख ९६ हजार ५३८ जनाले सेवा लिएका थिए। आर्थिक वर्ष २०८२/८३ मा २७ हजार ६६ जनाले आकस्मिक सेवा लिएका छन् भने ४ हजार ६८५ जना भर्ना भएर उपचार गराएका छन्। अस्पतालमा दैनिक १ हजार ५०० भन्दा बढीले ओपीडी सेवा लिने गरेको मेडिकल सुपरिन्टेन्डेन्ट डा. अंकुर पौडेलले जानकारी दिए।
अस्पतालमा प्रसूति तथा शल्यक्रिया सेवातर्फ पनि बिरामीको चाप बढेको छ। गत आर्थिक वर्षमा ४५२ जनाको सामान्य, ४७० जनाको शल्यक्रिया र तीन जनाको भ्याकुम प्रविधिबाट प्रसूति गराइएको अस्पतालले जनाएको छ। यस्तै, १ हजार २७१ जनाको जटिल तथा १ हजार १२७ जनाको साधारण शल्यक्रिया गरिएको छ।
डा. पौडेलका अनुसार अस्पतालले आगामी दिनमा स्वास्थ्य सेवाको दायरा थप विस्तार गर्ने तयारी गरेको छ। केही दिनमै बायोप्सी परीक्षण सेवा सञ्चालनमा ल्याउने तयारी भइरहेको छ। उनका अनुसार यो सेवा सुरु भएपछि रत्ननगर अस्पताल बायोप्सी सेवा सञ्चालन गर्ने पहिलो प्रादेशिक अस्पताल बन्नेछ।
त्यसैगरी, डायलासिस सेवा विस्तारको काम अन्तिम चरणमा पुगेको छ भने सिटी स्क्यान मेसिन ल्याउन आवश्यक प्रक्रिया पूरा भइसकेको अस्पतालले जनाएको छ। प्रदेश तथा केन्द्र सरकारबाट प्रतिबद्धता प्राप्त भएकाले छिट्टै सिटी स्क्यान सेवा सञ्चालनमा आउने अपेक्षा गरिएको छ।
मातृशिशु स्वास्थ्यका लागि निर्माण भइरहेको छुट्टै भवन पनि अन्तिम चरणमा पुगेको छ। भवन निर्माणमा ढिलाइ हुँदा सेवा विस्तारमा समस्या भइरहेको अस्पताल व्यवस्थापन समितिका अध्यक्ष गोपालराज कर्माचार्यले बताए। उनका अनुसार डायलासिसका लागि ल्याइएका मेसिनसमेत आवश्यक पूर्वाधार अभावमा गोदाममै राख्नुपर्ने अवस्था छ।
अध्यक्ष कर्माचार्यले विशेषज्ञ चिकित्सक र आधुनिक प्रविधिको प्रयोगसँगै सरकारी अस्पतालप्रति स्थानीयवासीको विश्वास बढ्दै गएको बताए। अस्पतालमा मिर्गौला तथा छालासम्बन्धी रोगको उपचारसँगै स्वास्थ्य बिमामार्फत सेवा लिने बिरामीको संख्या पनि उल्लेख्य रहेको उनको भनाइ छ।
२०२४ सालमा स्वास्थ्यचौकीका रूपमा स्थापना भएको यो अस्पताल २०७७ सालमा प्रदेश सरकारमातहत ५० शय्याको अस्पतालका रूपमा स्तरोन्नति भएको थियो। अस्पतालले २०७३ फागुनदेखि विशेषज्ञ प्रसूति सेवा सुरु गरेको थियो भने २०७४ मंसिर २० गते पहिलोपटक शल्यक्रियामार्फत प्रसूति सेवा प्रदान गरेको थियो।