ठेकेदारलाई दैनिक ५ हजार ४०० जरिवाना लगाउँदा पनि बलेन ट्राफिक लाइट

street light

चितवन, साउन २६-

भरतपुरका मुख्य चोकहरुमा ट्राफिक लाइट जडान गर्न ठडाइएका पोलहरु अलपत्र परेका छन् । बजार क्षेत्रलाई व्यवस्थित बनाउन ट्राफिक लाइट जडान गर्न खोजिएको थियो । तर, लामो समयदेखि ठेकेदार कम्पनीले ट्राफिक लाइट जडान गर्न सकेको छैन ।

ठेकेदारलाई दैनिक ५ हजार ४०० रुपैयाँ जरिवाना लगाउँदा पनि ट्राफिक लाइट बल्न सकेका छैनन् । मालपोत चोक, केन्द्रीय बसपार्क चोक, हाकिम चोक, चौविसकोठी, सहिदचोक र पुलचोकमा गाडिएका पोलहरु अलपत्र परेका छन् ।

ट्राफिक लाइट जडानको जिम्मा एभरेष्ट टुसी जेभीले पाएको हो । छ लेन सडकको एक्सप्रेस लेन र सर्भिस लेन दुवैमा ट्राफिक लाइट जडान गर्ने योजना रहेको छ । एक करोड आठ लाख रुपैयाँ लागतमा ट्राफिक लाइट जडान गर्न ठेकेदार कम्पनीसँग सम्झौता भएको थियो ।

उसले पाएको म्याद गत चैत २० गते नै सकिएको हो । त्यसयता दैनिक रुपमा जरिवाना तिरिरहेको छ । जरिवाना तिर्न थालेको १२५ दिन भन्दा बढी भइसकेको छ । सार्वजनिक खरिद ऐन अनुसार ठेकेदारलाई २०० दिनसम्म जरिवाना तिराएर काम गराउन सकिन्छ । त्यसपछि पनि काम सम्पन्न नभए ठेक्का रद्ध गर्नेदेखि कम्पनीलाई कालोसूचीमा राख्नेसम्मका प्रक्रिया अघि बढ्छन्।

सडक विभागको सडक सुरक्षा तथा ट्राफिक शाखाका प्रमुख राकेश महर्जनका अनुसार ठेकेदार कम्पनीले अबको एक हप्ताभित्र ट्राफिक लाइट जडानको काम सुरु गर्ने बताएको छ । भारतबाट मगाएको ट्राफिक लाइट भन्सारमा आइपुगेको कम्पनीले बताएको छ । ट्राफिक लाइट आइपुगेपछि एक महिनाभित्र जडानको काम सम्पन्न गर्ने कम्पनीले दाबी गरेको छ ।