चितवन, साउन ११-
सडक डिभिजन कार्यालय भरतपुरले निर्माण कार्य लामो समयदेखि अलपत्र पारेको भन्दै मकवानपुरस्थित शिवशक्ति इन्फ्रा डेभलपर्स प्रालिसँग भएको ठेक्का सम्झौता रद्द गरेको छ।
कार्यालयले सोमबार सार्वजनिक सूचना जारी गर्दै सम्झौताअनुसार निर्धारित समयभित्र निर्माण कार्य सम्पन्न नगरेको तथा पटक–पटक ताकेता गर्दा पनि काम अघि नबढाएकाले ठेक्का अन्त्य गरिएको जनाएको हो।
उक्त कम्पनीले चितवनको पूर्व–पश्चिम राजमार्ग (एमआरएम) अन्तर्गत लोथरदेखि टिकौलीसम्मको सडक मर्मत तथा ओभरले गर्ने जिम्मा पाएको थियो। तर, सम्झौतामा उल्लेखित समयसीमाभित्र काम सम्पन्न नगरेर निर्माण स्थल लामो समयसम्म अलपत्र छाडेपछि ठेक्का रद्द गर्ने निर्णय गरिएको कार्यालयले जनाएको छ।
सडक डिभिजनका अनुसार निर्माण व्यवसायीलाई लिखित तथा मौखिक रूपमा पटक–पटक काम सम्पन्न गर्न आग्रह गरिएको थियो। त्यसपछि पनि प्रगति नभएपछि २०७९ पुस २० गते ठेक्का किन अन्त्य नगर्ने भन्ने विषयमा तीन दिने स्पष्टीकरणसमेत मागिएको थियो। तर, निर्माण कम्पनीबाट सन्तोषजनक जवाफ प्राप्त नभएको कार्यालयको भनाइ छ।
निर्माण व्यवसायी स्वयंले सम्झौताअनुसार काम सम्पन्न गर्न नसक्ने अवस्था सिर्जना गरेको निष्कर्षसहित सार्वजनिक खरिद ऐन, २०६३ को दफा ५९ को उपदफा (२) र (७) बमोजिम साउन ८ गतेको निर्णयअनुसार ठेक्का सम्झौता अन्त्य गरिएको सूचनामा उल्लेख छ।
कार्यालयले ठेक्का रद्द भएसँगै प्रचलित कानुनअनुसार सम्बन्धित निर्माण कम्पनीविरुद्ध आवश्यक थप कारबाही प्रक्रिया समेत अगाडि बढाइने जनाएको छ।