स्पेनबाट १९९ सदस्यीय टोली चितवनमा, पटिहानीमा पर्यटन र संस्कृतिको अध्ययन

spain tourist

चितवन, साउन ३-

पर्यटन प्रवर्द्धन, सांस्कृतिक आदानप्रदान तथा अध्ययन–अवलोकनका उद्देश्यले स्पेनको रुटा इन्टरनेशनलमार्फत १९९ जना युवा विद्यार्थी, पत्रकार तथा चिकित्सकको टोली चितवन आएको छ।

२४ दिने नेपाल भ्रमणमा रहेको टोलीले काठमाडौंसँगै चितवनका विभिन्न पर्यटकीय तथा सांस्कृतिक स्थलको अवलोकन गर्दै नेपाली कला, संस्कृति, रहनसहन, भेषभूषा, पर्यावरण, जैविक विविधता तथा जलवायु परिवर्तनसम्बन्धी विषयमा अध्ययन गर्ने कार्यक्रम रहेको छ।

भरतपुर महानगरपालिका–२२ का वडाध्यक्ष विष्णुराज महतोका अनुसार टोलीले शनिबार बिहान पटिहानी क्षेत्रमा वृक्षारोपण कार्यक्रमसमेत सम्पन्न गरेको छ। भ्रमणका क्रममा स्पेनी टोलीलाई चितवन राष्ट्रिय निकुञ्जको कसरा क्षेत्र, पटिहानीस्थित कमलपोखरी, थारु सांस्कृतिक संग्रहालय, अम्ब्रेला स्ट्रिट, स्टोन पार्कलगायतका प्रमुख पर्यटकीय गन्तव्यको अवलोकन गराइनेछ।

स्थानीय तहका अनुसार यस्तो अन्तर्राष्ट्रिय भ्रमणले पटिहानी क्षेत्रको पर्यटन प्रवर्द्धन, स्थानीय संस्कृति तथा प्राकृतिक सम्पदाको अन्तर्राष्ट्रिय स्तरमा प्रचारप्रसार हुनुका साथै नेपाल र स्पेनबीच सांस्कृतिक तथा शैक्षिक सम्बन्ध थप सुदृढ बनाउन सहयोग पुग्ने अपेक्षा गरिएको छ।