धुर्वे हात्तीलाई रेडियो कलर जडान, दाह्रा काटेर छाडियो

dhrube ele

भरतपुर,साउन ३२-

चितवन राष्ट्रिय निकुञ्जले धुर्वे हात्तीलाई रेडियो कलर जडान गरेको छ । निकुञ्ज तथा मध्यवर्ती क्षेत्रमा २५ जनाको ज्यान लिइसकेको जंगली हात्ती धुर्वेलाई आज राती १०ः३० बजे डार्ट (बेहोस) बनाएर घाँटीमा रेडियोकलर जोडिएको हो । निकुन्जका सूचना अधिकारी अविनाश थापा मगरका अनुसार ध्रुवेलाई डार्ट गरेर घाँटीमा स्याटलाइट रेडियो कलर जडान गर्नुका साथैं दाह्रा काटेर छाडिएको छ । निकुञ्जको सुखीभार पोस्ट नजिक ध्रुवेलाई डार्ट गरिएको हो ।

रेडियो कलर जडानपछि हात्तीको अवस्थिति छोटो अन्तरालको समयमा जानकारी प्राप्त हुने र जियोफेन्सिङसहित हात्तीको विचरणको सूचना तत्काल प्राप्त हुने मगरले बताउनुभयो । यसले हात्तीको नियमित अनुगमन गर्न, समयमै सूचना प्रवाह गर्न तथा मानव–हात्ती द्वन्द्व न्यूनीकरण गर्न महत्वपूर्ण सहयोग पुग्ने विश्वास निकुञ्जको छ । निकुञ्ज सुरक्षार्थ खटिएको नेपाली सेनाको नयाँ गोरख गण, निकुञ्जका प्राविधिक कर्मचारी तथा राष्ट्रिय प्रकृति संरक्षण कोषका प्राविधिक सहितको टोलीले ध्रुवेलाई डार्ट गरेका हुन् । ध्रुवेलाई योसहित तेस्रोपटक घाँटीमा रेडियो कलर जोडिएको हो ।

गत असार २० गते राति भरतपुर–२३ बेलहठ्ठामा सुतिरहेका बेला २५ वर्षीया आशिका बोटे र उनका ४ वर्षीय छोरा भरत बोटेको ज्यान लिएपछि थप क्षति हुन नदिन निकुञ्जले हात्तीको खोजी र निगरानी बढाएको थियो । रेडियो कलर जोड्ने निर्णय भए पनि प्रतिकुल मौमस र घना जंगलसंगै बढेको झाडिले गर्दा ध्रुवेलाई फेला पार्न सकिएको थिएन । निकुञ्जले झण्डै ११ दिनपछि मात्रै ध्रुवेको घाँटीमा रेडियोकलर जोड्न सफल भएको छ । ध्रुवेको आक्रमणबाट हालसम्म २५ जनाको मृत्यु भइसकेको छ । निकुञ्ज र मध्यवर्ती आसपासका स्थानीय बासिन्दालाई सतर्क रहन, निकुञ्ज तथा सम्बन्धित निकायबाट जारी हुने सूचनाको पालना गर्न र जंगली हात्ती देखिएमा तत्काल सम्बन्धित निकायलाई जानकारी गराउन आग्रह समेत गरिएको छ ।