चितवन, असार २९-
राष्ट्रिय परीक्षा बोर्डले सार्वजनिक गरेको कक्षा १२ को नतिजामा गम्भीर त्रुटि भएको भन्दै चितवनका एक विद्यार्थी न्यायको खोजीमा विभिन्न निकाय धाइरहेका छन्। भरतपुर–७ निवासी १८ वर्षीय सुलोक गुरुङले आफूले कम्प्युटर विज्ञानको सैद्धान्तिक परीक्षा दिएको भए पनि नतिजामा ‘एब्सेन्ट’ (अनुपस्थित) देखाइएकाले आफ्नो शैक्षिक भविष्य अन्योलमा परेको बताएका छन्।
अंकुरम एकेडेमीका विद्यार्थी सुलोकले कम्प्युटर विज्ञानबाहेक अधिकांश विषयमा ‘ए प्लस’ ग्रेड प्राप्त गरेका छन्। विद्यालयले प्रयोगात्मक परीक्षामा पूर्णाङ्क दिएको भए पनि सैद्धान्तिकतर्फ भने उनी अनुपस्थित देखिएका छन्।
नतिजा सार्वजनिक भएपछि परिवारले इडेन गार्डेन परीक्षा केन्द्रबाट परीक्षामा सहभागी भएको प्रमाण संकलन गरी हेटौंडास्थित प्रदेश परीक्षा व्यवस्थापन कार्यालयदेखि भक्तपुरको सानोठिमीस्थित राष्ट्रिय परीक्षा बोर्डसम्म पुगेर समाधान खोजे पनि कुनै ठोस सुनुवाइ नभएको गुनासो गरेका छन्।
विद्यार्थीका आमा सरिता गुरुङका अनुसार सम्बन्धित कार्यालयहरूले जिम्मेवारी एकअर्कामा पन्छाउँदै निवेदन दिन मात्र आग्रह गरेका छन्। परीक्षा बोर्डबाट उत्तरपुस्तिका पहिलो चरणमा फेला नपरेको र पुनः परीक्षा दिन सुझाव दिइएको भन्दै परिवारले त्यसलाई गैरजिम्मेवार जवाफको संज्ञा दिएको छ।
आगामी ग्रेडवृद्धि परीक्षा नजिकिँदै गर्दा आफूले गल्ती नगरी पुनः परीक्षा दिनुपर्ने अवस्था अन्यायपूर्ण भएको सुलोकको भनाइ छ। उनले उत्तरपुस्तिका हराएको वा नतिजा प्रशोधनका क्रममा त्रुटि भएको आशंका गर्दै प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयअन्तर्गत ‘हेलो सरकार’मा समेत निवेदन दिएका छन्।
यसैबीच, यस वर्षको कक्षा १२ को नतिजामा त्रुटि भएको भन्दै देशका विभिन्न स्थानमा विद्यार्थीहरूले विरोध प्रदर्शन गरेका छन्। नतिजा हतारमा सार्वजनिक गर्दा मूल्याङ्कन र डेटा इन्ट्रीमा कमजोरी भएको आरोप विद्यार्थीहरूको छ।
यता शिक्षामन्त्री सस्मित पोखरेलले नतिजा प्रकाशन प्रक्रिया आवश्यक जनशक्ति परिचालन गरेर सम्पन्न गरिएको दाबी गर्दै उठेका गुनासाबारे अध्ययन गर्न उत्तरपुस्तिका परीक्षण तथा डेटा प्रमाणीकरण समिति गठन गरिएको जानकारी दिएका छन्। तर समिति गठन भइसके पनि सुलोक गुरुङलगायत प्रभावित विद्यार्थीहरूको समस्या अझै समाधान हुन सकेको छैन। राज्य संयन्त्रको त्रुटिका कारण एउटा विद्यार्थीको शैक्षिक भविष्य संकटमा परेको भन्दै परिवारले तत्काल सत्यतथ्य छानबिन गरी न्याय दिन सम्बन्धित निकायसँग माग गरेको छ।