ध्रुवे हात्ती नियन्त्रणका लागि रेडियो कलर जडान गर्ने तयारी, २४सै घण्टा निगरानी

dhrube ele

चितवन , असार २५ –

चितवन राष्ट्रिय निकुञ्जबाट बस्तीमा प्रवेश गर्दै आएको कुख्यात ‘ध्रुवे’ हात्तीलाई नियन्त्रणमा लिन २४सै घण्टा निगरानी सुरु गरिएको छ। कृषि, वन तथा वातावरणमन्त्री गीता चौधरीको निर्देशनमा निकुञ्ज, नेपाली सेना र राष्ट्रिय प्रकृति संरक्षण कोषको प्राविधिक टोली संयुक्त रूपमा परिचालित भएको कृषि, वन तथा वातावरण मन्त्रालयले जनाएको छ।

मन्त्रालयका अनुसार ध्रुवे हात्ती निकुञ्जभित्र उपयुक्त स्थानमा भेटिएमा डार्ट (बेहोस बनाउने औषधि) प्रयोग गरी त्यसमा रेडियो कलर जडान गरिनेछ। रेडियो कलर जडानपछि हात्तीको गतिविधि २४सै घण्टा निगरानीमा राखी बस्तीतर्फ आउनुअघि नै सूचना प्रवाह गर्ने योजना बनाइएको छ।

गत असार २० गते भरतपुर महानगरपालिका–२३ बेलहट्टामा ध्रुवे हात्तीको आक्रमणबाट माडी नगरपालिका–१ घर भई हाल बेलहट्टामा बसोबास गर्दै आएकी २५ वर्षीया आशिका बोटे र उनका चार वर्षीय छोरा भरत बोटेको ज्यान गएको थियो। उक्त घटनापछि सरकार हात्ती नियन्त्रण र बस्तीको सुरक्षामा थप सक्रिय बनेको हो।

मन्त्री चौधरीले मध्यवर्ती क्षेत्रका बासिन्दालाई हात्ती बस्तीतर्फ आउन लागेको सूचना समयमै उपलब्ध गराई आवश्यक सतर्कता अपनाउन आग्रह गरेकी छन्। उनका अनुसार स्थानीय तह, सुरक्षा निकाय र निकुञ्ज प्रशासनबीच सूचना आदानप्रदानलाई थप प्रभावकारी बनाइएको छ।

यस्तै, ध्रुवे हात्तीको आक्रमणमा ज्यान गुमाएका आमा–छोराका परिवारलाई घटनाको तीन दिनभित्रै जनही १० लाख रुपैयाँका दरले २० लाख रुपैयाँ सरकारी राहत उपलब्ध गराइएको मन्त्रालयले जनाएको छ। साथै, राष्ट्रिय प्रकृति संरक्षण कोषद्वारा सञ्चालित मानव–वन्यजन्तु द्वन्द्व व्यवस्थापन कोषबाट जनही ५० हजार रुपैयाँका दरले थप एक लाख रुपैयाँ राहत प्रदान गरिएको मन्त्रालयले जानकारी दिएको छ।