भरतपुर अस्पतालमा डिजिटल सेवा विस्तार : अब अनलाइन टिकट र मेसिनबाटै रिपोर्ट

bharatpur-hospital

चितवन,

भरतपुर अस्पतालले बिरामीको भीड व्यवस्थापन र सेवा प्रवाहलाई सहज बनाउन डिजिटल प्रविधिमा आधारित सेवा सुरु गरेको छ। अब अस्पताल आउने बिरामीले अनलाइनमार्फत टिकट काट्न र टिकट तथा स्वास्थ्य परीक्षणको रिपोर्ट भेन्डिङ मेसिनबाटै प्राप्त गर्न सक्ने भएका छन्। दैनिक तीन हजारभन्दा बढी बिरामीको चाप रहने अस्पतालमा लामो समयसम्म टिकटका लागि लाइन बस्नुपर्ने समस्या समाधान गर्ने उद्देश्यले यो सेवा परीक्षणका रूपमा सञ्चालनमा ल्याइएको हो।

अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा. विश्वबन्धु बगालेका अनुसार पुरानो मेसिनको मर्मतसम्भार गरी थप नयाँ मेसिन जडान गरिएको छ। यसमार्फत बिरामीले अस्पतालको वेबसाइटमा गएर आफ्नो विवरण भर्ने, आवश्यक सेवा छनोट गर्ने, अनलाइन भुक्तानी गर्ने र प्राप्त भएको क्यूआर वा कोड मेसिनमा स्क्यान गरी टिकट प्रिन्ट गर्न सक्नेछन्। त्यसपछि उनीहरू सिधै सम्बन्धित चिकित्सककहाँ पुग्न सक्नेछन्।

यसअघि पनि अनलाइन टिकटको व्यवस्था भए पनि टिकट प्रिन्ट गर्न अस्पतालमै लाइन बस्नुपर्ने बाध्यता थियो। नयाँ व्यवस्थाले उक्त झन्झट हटाउने विश्वास अस्पताल प्रशासनले गरेको छ। डा. बगालेले भविष्यमा अस्पताललाई ‘काउन्टरलेस’ बनाउने लक्ष्य रहेको बताउँदै प्रविधि प्रयोग गर्न नसक्ने सेवाग्राहीका लागि सीमित काउन्टर मात्रै राखिने जानकारी दिनुभयो। हाल १० वटा काउन्टरबाट टिकट वितरण भइरहेको छ भने सेवाको प्रभावकारिता हेर्दै क्रमशः काउन्टरको संख्या घटाइनेछ।

अस्पतालले मोबाइल एपमार्फत पनि सेवा उपलब्ध गराउने तयारी गरिरहेको छ। साथै, स्वास्थ्य बीमा कार्ड स्क्यान गरेर बीमाको बाँकी रकम र मान्य अवधि हेर्न सकिने सुविधा समेत थपिएको छ। टिकटसँगै रगत परीक्षणलगायतका प्रयोगशाला रिपोर्ट पनि अब भेन्डिङ मेसिनबाटै लिन सकिने व्यवस्था गरिएको छ। परीक्षणपछि प्राप्त हुने रसिदमा रहेको बारकोड मेसिनमा स्क्यान गरेपछि रिपोर्ट तत्काल प्राप्त हुनेछ।

चितवनसहित नवलपुर, मकवानपुर, गोरखा, तनहुँलगायत छिमेकी जिल्लाबाट पनि बिरामी आउने भरतपुर अस्पतालमा निजी अस्पतालमा स्वास्थ्य बीमा सेवा बन्द भएपछि बिरामीको चाप थप बढेको छ। अस्पतालका अनुसार यहाँ आउने बिरामीमध्ये ७० प्रतिशतभन्दा बढी स्वास्थ्य बीमा कार्यक्रमअन्तर्गत सेवा लिने गरेका छन्। अस्पतालले प्रविधिमैत्री सेवा विस्तारसँगै बिरामीलाई छिटो, सहज र व्यवस्थित स्वास्थ्य सेवा उपलब्ध गराउने विश्वास लिएको छ।