इच्छाकामना गाउँपालिकाले कक्षा ८ देखि १० सम्म निःशुल्क अतिरिक्त कक्षा सञ्चालन गर्ने

8-10 scholarship

चितवन, असार ११ –

चितवनको इच्छाकामना गाउँपालिकाले कक्षा ८ देखि १० सम्मका विद्यार्थीका लागि निःशुल्क अतिरिक्त कक्षा सञ्चालन गर्ने भएको छ।गाउँपालिकाले आर्थिक वर्ष २०८३/८४ को बजेटमार्फत उक्त कार्यक्रम सञ्चालन गर्न रु २६ लाख बजेट विनियोजन गरेको गाउँपालिका उपाध्यक्ष माया सिलवालले जानकारी दिनुभयो।

गाउँपालिका अध्यक्ष दानबहादुर गुरुङका अनुसार आर्थिक अभावका कारण अतिरिक्त कक्षा लिनबाट विपन्न परिवारका विद्यार्थी वञ्चित नहोउन् भन्ने उद्देश्यले यो कार्यक्रम ल्याइएको हो। उहाँले वार्षिक दुई महिनासम्म अतिरिक्त कक्षा सञ्चालनका लागि बजेट व्यवस्था गरिएको बताउनुभयो।

अध्यक्ष गुरुङले गाउँपालिकाले शैक्षिक सुधारलाई प्राथमिकता दिँदै विपन्न परिवारका बालबालिकाका लागि छात्रवृत्ति, विद्यार्थी–अभिभावक शिक्षा कार्यक्रम, स्वयंसेवक शिक्षकको व्यवस्था तथा बालकक्षा सुदृढीकरणलगायत विभिन्न कार्यक्रम सञ्चालन गरिरहेको जानकारी दिनुभयो।

उहाँका अनुसार गाउँपालिकाले जीर्ण विद्यालय भवनहरू विस्थापित गरी नयाँ पक्की भवन निर्माण गर्ने कार्यसमेत अघि बढाएको छ। शिक्षामा गरिएको लगानीको प्रतिफल देखिन केही समय लाग्ने भए पनि हाल सञ्चालन भइरहेका कार्यक्रम तथा लगानीले आगामी केही वर्षभित्र सकारात्मक नतिजा दिने विश्वास व्यक्त गर्नुभयो।